रञ्जन यादब /बारा
बारा निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम विवरणअनुसार कुल ६९ हजार ६४० मत खसेकोमा ३ हजार मत बदर भएको छ ।दलगत मत परिणामअनुसार घण्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा बढी मतसहित पहिलो स्थानमा रहेको छ। घण्टीले ५० हजार ४२१ मत प्राप्त गरेको छ।त्यसैगरी सूर्य चुनाव चिन्ह भएको नेकपा एमाले ले ८ हजार २०१ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ भने रुख चुनाव चिन्ह भएको नेपाली कांग्रेस ले ५ हजार १८ मत प्राप्त गरेको छ।यस्तै छाता चुनाव चिन्ह भएको जनता समाजवादी पार्टी ले ४ हजार ४२ मत प्राप्त गरेको छ भने तारा चुनाव चिन्ह भएको नेपाल कम्युनिष्ट पार्टी ले १ हजार ९५८ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।समानुपातिक तर्फको मतगणना सम्पन्न भएसँगै बारा क्षेत्र नं. ४ को निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
मतगणनामा खटिएका कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा सम्पूर्ण सहयोगीप्रति निर्वाचन कार्यालयले धन्यवाद व्यक्त गरेको छ।यसअघि बारा निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका रास्वपाका रहबर अन्सारीले फराकिलो मतान्तरसहित विजय हासिल गरेका हुन्। अन्सारीले २०७९ सालमा यही क्षेत्रबाट निर्वाचित सांसद तथा नेकपा एमालेबाट उम्मेदवार रहेका पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) लाई २९ हजार पाँच सय ६१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्। अन्सारीले कुल ४१ हजार दुई सय मत प्राप्त गर्दा श्रेष्ठले ११ हजार ६ सय ३९ मत प्राप्त गर्नुभयो ।श्रेष्ठले अघिल्लो २०७९ सालको निर्वाचनमा १० हजारभन्दा बढी मतान्तरले जित हात पारेका थिए। तर यसपटक भने नेकपा माओवादी केन्द्र परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका अन्सारीले उहाँलाई पराजित गरेका हुन्।अन्सारी २०७९ सालको निर्वाचनमा पर्सा क्षेत्र नं. १ (१) बाट नेकपा माओवादी केन्द्रका तर्फबाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। पछि उहाँले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर बारा ४ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका थिए।

