रञ्जन यादब /बारा
बारा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचनमा प्रतिस्पर्धा गरेका ३७ उम्मेदवारमध्ये ३४ जनाले आवश्यक मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको हो। प्रतिनिधिसभा निर्वाचन निर्देशिका २०८२ अनुसार सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान रहेको छ।
सो प्रावधानअनुसार यस निर्वाचनमा तीन उम्मेदवारबाहेक अन्य सबै उम्मेदवारले जमानत जोगाउन सकेनन्।निर्वाचनमा १८ जना राजनीतिक दलका र १९ जना स्वतन्त्र उम्मेदवार गरी कुल ३७ जनाले उम्मेदवारी दिएका थिए। मतगणनाको अन्तिम परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अंसारी, नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) र जसपा नेपालका सन्जु साह कानुले मात्रै आवश्यक मत प्राप्त गर्दै जमानत जोगाउन सफल भएका छन्।बारा–४ मा खसेको कुल ८० हजार ६ सय ७८ मतमध्ये ७४ हजार ६ सय ३७ मत सदर भएको थियो। जमानत जोगाउन सदर मतको १० प्रतिशत अर्थात् कम्तीमा ७ हजार ४ सय ६४ मत आवश्यक पर्ने प्रावधान रहेको थियो। तर रास्वपा, एमाले र जसपा नेपालका उम्मेदवारबाहेक अन्य उम्मेदवारले उक्त मतसंख्या पार गर्न सकेनन्।मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ताले ७ हजार १ सय १३ मत प्राप्त गरे पनि आवश्यक मत नपुग्दा उनको जमानत जफत भएको छ। यस्तै नेपाल कम्युनिष्ट पार्टीका अजय कुशवाहाले २ हजार ६७, राष्ट्रिय एकता दलका विनय यादवले १ हजार २६, आम जनता पार्टीका उमेश कुशवाहाले ८ सय ३३, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलिप शर्मा नेपालले ८ सय ९ मत प्राप्त गरेका थिए।
यसैगरी राष्ट्र निर्माण दल नेपालका समिम मियाँले ४ सय ८१, राष्ट्रिय परिवर्तन पार्टीका सर्वेन्द्र खनालले ४ सय ६४, जनमत पार्टीका हसनजान मियाँले ४ सय ३७, उज्यालो नेपालका सन्तोषकुमार गुप्ताले २ सय २०, श्रम संस्कृति पार्टीका गोपालबहादुर खत्रीले १ सय ४४ र राष्ट्रिय जनमोर्चाकी सरस्वती उपाध्याले ५० मत प्राप्त गरेका थिए। निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार आवश्यक मत नपुग्दा तीन उम्मेदवारबाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको हो।

