रञ्जन यादब/बारा
बारा निर्वाचन क्षेत्र नं. ४ मा किसान श्रेष्ठ नेतृत्वको घरदैलो अभियानले तीव्र गति लिएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट सञ्चालन भइरहेको अभियानअन्तर्गत दोस्रो दिन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ र २२ मा व्यापक जनसहभागितासहित कार्यक्रम सम्पन्न भएको हो।

वडा नं. २२ बाट सुरु गरिएको अभियानमा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति देखिएको थियो। युवादेखि ज्येष्ठ नागरिकसम्मको सक्रिय सहभागिताले चुनावी माहोललाई थप ऊर्जा दिएको सहभागीहरूले बताएका छन्। घरघरमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै श्रेष्ठले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य सेवाको स्तरोन्नतिलगायत आफ्ना प्राथमिकता सार्वजनिक गरेका थिए।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदातासँग अन्तरक्रिया गर्ने क्रममा स्थानीयले सडक, खानेपानी, सिँचाइ, बेरोजगारी र पूर्वाधार विकासका विषयमा विशेष चासो व्यक्त गरेका छन्। श्रेष्ठले जनताको सुझावलाई आफ्नो प्रतिबद्धतासँग जोड्दै “स्थानीय आवश्यकता नै मेरो पहिलो प्राथमिकता हो” भन्ने धारणा राखेको अभियान टोलीले जनाएको छ।
घरदैलोका क्रममा उनले नागरिकका गुनासा, समस्या र अपेक्षा टिपोट गर्दै समाधानमुखी पहल गर्ने आश्वासन दिएका थिए। एक स्थानीयवासीका अनुसार, “उहाँले हाम्रा कुरा गम्भीरतापूर्वक सुन्नुभयो र कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो।”
बारा–४ मा एमालेको चुनावी गतिविधि दिनप्रतिदिन सक्रिय बन्दै गएको छ। जनतासँग प्रत्यक्ष संवाद र सहभागितालाई प्राथमिकता दिँदै सञ्चालन गरिएको घरदैलो अभियानले निर्वाचनको माहोललाई थप गतिशील र उत्साहपूर्ण बनाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
