जीतपुरसिमरामा अपाङ्गता भएका महिला तथा किशोरी लक्षित रुपान्तरणमुखी परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा समावेशी शासन, स्वतन्त्रताको प्रवद्र्धन तथा अपाङ्गता भएका महिला र किशोरीहरूका लागि रुपान्तरणमुखी वातावरण सिर्जना गर्ने उद्देश्यसहित परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।मुक्ति नेपाल, गोलबजार सिरहाको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रमअन्तर्गत चार वर्षे परियोजना कार्यान्वयन गरिने जानकारी दिइएको छ ।

परियोजनाको मुख्य उद्देश्य अपाङ्गता भएका महिला तथा किशोरीहरूलाई हिंसामुक्त बनाउँदै सम्मानजनक जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्नु रहेको छ ।परियोजनाका कार्यकारी निर्देशक श्यामकुमारी साहका अनुसार स्थानीय सरकार, न्यायिक संयन्त्र तथा सेवा प्रदायक निकायहरूमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणसम्बन्धी बुझाइ अभिवृद्धि गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ । साथै स्थानीय तहमा उपलब्ध सेवा, पूर्वाधार तथा भौतिक संरचनाहरूलाई अपाङ्गता–समावेशी बनाउँदै पहुँच विस्तार गर्ने लक्ष्य परियोजनाले लिएको छ ।लैङ्गिक हिंसाबाट प्रभावित तथा पीडित महिला–किशोरी र उनीहरूका परिवारलाई न्यायमा पहुँच पु¥याउने, आवश्यक सेवा र संरक्षण सुनिश्चित गर्ने कार्य पनि परियोजनाका प्राथमिकतामा रहेको साहले बताइन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत शिवजी प्रसाद ,नेपाल अपाङ्ग सेवा समिती बाराका अध्यक्ष गंगा वाग्ले , महिला बिकाश अधिकृत सिमा यादब ,स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको मुक्ति नेपालको जिल्ला संयोजक बिरु यादबले जानकारी दिए ।