रञ्जन यादब /बारा
नेपाल आयल निगमको प्रादेशिक डिपो अम्लेखगञ्जमा आबद्ध स्वरोजगार साना ट्यांकर व्यवसायी तथा चालकहरू आन्दोलित भएका छन् । बरौनी–अम्लेखगञ्ज पेट्रोलियम ढुवानी पूर्ण रूपमा बन्द भएपछि प्रभावित बनेका १०४ वटा ट्यांकरलाई तत्काल आन्तरिक ढुवानीमा प्रयोग गर्नुपर्ने माग गर्दै उनीहरूले आन्दोलन थालेका हुन् ।
आन्दोलनको क्रममा आज ट्यांकर व्यवसायी तथा चालकहरूले करिब एक घण्टासम्म डिपोमा लोड तथा अनलोड कार्य ठप्प पारेका थिए । पाइपलाइनमार्फत डिजेल, पेट्रोल र मट्टितेल आयात सुरु भएपछि निगमले ट्यांकरबाट हुँदै आएको ढुवानी बन्द गरेको छ ।ढुवानी बन्द भएसँगै निगमले ती १०४ वटा ट्यांकरलाई काठमाडौँ, पोखरा, भैरहवा र विराटनगरका विमानस्थलमा हवाई इन्धन ढुवानीमा प्रयोग गर्ने निर्णय गरेको छ । तर, हवाई इन्धन ढुवानीका लागि आवश्यक ट्यांकर मर्मतसम्भार र ट्यांकी परिवर्तन गर्न चालकहरूलाई तीनदेखि चार महिनासम्म ग्यारेजमा पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको उनीहरूको गुनासो छ ।अखिल नेपाल मजदुर संघका अध्यक्ष मानसिङ लामा लामो समयसम्म ट्यांकर निष्क्रिय हुँदा साना व्यवसायी र चालकहरूको रोजगारी नै संकटमा पर्ने बताउँछन् ।
“चार महिनासम्म ट्यांकर ग्यारेजमै थन्किने अवस्था आयो भने बैंकको किस्ता कसरी बुझाउने, परिवार कसरी पाल्ने?” भन्दै उनले अस्थायी रूपमा भए पनि आन्तरिक ढुवानीको व्यवस्था गर्न माग गरे ।निगममा व्यवस्थापन हुन बाँकी १०४ वटा ट्यांकरमध्ये ५० प्रतिशतभन्दा बढी अम्लेखगञ्ज क्षेत्रकै स्थानीयको रहेको बताइएको छ । पहुँचको आधारमा केही ट्यांकरले एउटा पम्पको अनुमति लिएर धेरै पम्पमा ढुवानी गर्ने गरेको आरोप ट्यांकर चालक श्याम मगरले लगाए । “हामी जहाँ पठाए पनि जान तयार छौँ, तर मर्मतका लागि पालो नआउञ्जेलसम्म ढुवानी गर्न पाउनुपर्छ,” उनले भने ।नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा हाल निजी पम्प ढुवानी प्रयोजनका लागि १२७ ट्यांकर आबद्ध छन् ।

ती ट्यांकरले मासिक ३०–३२ पटकसम्म ढुवानी गर्दै आएको स्थानीय ट्यांकर व्यवसायी कृष्ण ठकुरीले जानकारी दिए । जायज माग राख्दा केन्द्रबाट सुनुवाइ नभएकाले सांकेतिक रूपमा एक घण्टा ढुवानी अवरुद्ध गर्नुपरेको उनको भनाइ छ ।“केही निजी ढुवानीकर्ताले एउटै पम्पको अनुमति लिएर धेरै पम्पमा ढुवानी गर्छन्, तर हामीले काम पाउँदैनौँ,” पूर्व वडाध्यक्षसमेत रहेका ठकुरीले भने, “ट्यांकी जडान नहुञ्जेलसम्म गाडी नभएका पम्पहरूको ढुवानी हामीलाई दिनुपर्छ भन्ने हाम्रो माग हो ।”हाल अम्लेखगञ्ज डिपोबाट दैनिक करिब ४ सय ट्यांकरले काठमाडौँ, पोखरा, जनकपुर, भैरहवा, चितवन, वीरगञ्ज र विराटनगरतर्फ पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका छन् । तर डिपो प्रमुख प्रलयङ्कर आचार्यले केन्द्रको निर्देशनविपरीत कुनै निर्णय गर्न नसक्ने स्पष्ट पारे ।
“केन्द्रबाट निर्णय आएमा समस्या हुँदैन, तर बन्द भइसकेका ट्यांकर फेरि सञ्चालन गर्न म सक्दिनँ,” आचार्यले भने, “ती ट्यांकर सञ्चालन नगर्न निर्देशन आएको छ ।”निगमले माघ १२ गतेदेखि १०४ वटा ट्यांकरलाई बरौनी–अम्लेखगञ्ज ढुवानीबाट हटाएको हो । ट्यांकर व्यवस्थापनका विषयमा निगमको केन्द्रीय कार्यालयले दुई महिनाअघि नै सूचना जारी गरेको थियो । डिपो प्रमुख आचार्यका अनुसार केही ट्यांकर चालकले समयमै मर्मतसम्भार नगरेकाले अन्तिम समयमा ग्यारेजमा पालो कुर्नुपर्ने अवस्था आएको हो ।

