बारा क्षेत्र नं.४ मा जितेका उम्मेदवार भन्दा एकवाल मिया र इच्छा बहादुर वाग्लेको व्यक्तिगत लोकप्रियता बढी,तर दुबैले पाएनन् टिकट

,रञ्जन यादब /बारा

बारा क्षेत्र नं.४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको २०७९ सालको मतपरिणामले यहाँको राजनीति पार्टीभन्दा बढी उम्मेदवारको व्यक्तिगत छवि, पहुँच र जनसम्बन्धमा निर्भर रहेको स्पष्ट संकेत गरेको छ। प्रत्यक्ष र समानुपातिक मतको तुलनात्मक अध्ययन गर्दा उम्मेदवारको व्यक्तिगत लोकप्रियता र पार्टीको संगठित मतबीच उल्लेखनीय अन्तर देखिएको हो।२०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित किसान श्रेष्ठले ३० हजार ३४१ मत प्राप्त गरेका थिए। उनलाई समर्थन गर्ने गठबन्धन दलहरूको समानुपातिक मत हेर्दा लोसपा १० हजार ९११, माओवादी केन्द्र ६ हजार ५६१, नेपाली कांग्रेस ६ हजार ४७२ र एकीकृत समाजवादी ४ हजार ६९१ गरी जम्मा २८ हजार ६३५ मत पुगेको देखिन्छ। यसअनुसार किसान श्रेष्ठले गठबन्धनको कुल समानुपातिक मतभन्दा करिब १ हजार ७०६ मत मात्रै बढी ल्याएका छन्।

यसले उनको जितमा गठबन्धनको संगठित मत निर्णायक रहेको, व्यक्तिगत मत आकर्षण भने सीमित देखिएको विश्लेषकहरूको बुझाइ छ।त्यसको विपरीत, तत्कालीन नेकपा एमालेका प्रत्यक्ष उम्मेदवार एकवाल मियाले २० हजार ३३६ मत प्राप्त गरेका थिए। सोही निर्वाचनमा एमालेले बारा–४ मा समानुपातिकतर्फ १४ हजार ७८८ मत मात्रै पाएको थियो। यस आधारमा एकवाल मियाले पार्टीको समानुपातिक मतभन्दा ५ हजार ५४८ मत बढी ल्याएको देखिन्छ। यसले उनी पार्टीको सीमाभन्दा बाहिर पनि उल्लेख्य व्यक्तिगत समर्थन पाउन सफल भएको पुष्टि गर्दछ।त्यस्तै, स्वतन्त्र उम्मेदवार इच्छा बहादुर वाग्लेले ५ हजार ५४२ मत प्राप्त गरेका थिए। पार्टी संरचना र संगठित संयन्त्रविना प्राप्त भएको यो मतले पनि बारा क्षेत्र नं.४ मा मतदाताहरू व्यक्तिगत छवि र उम्मेदवारको प्रत्यक्ष सम्पर्कलाई महत्व दिने गरेको संकेत गर्दछ।

राजनीतिक विश्लेषकहरूका अनुसार यी तथ्याङ्कहरूले बारा क्षेत्र नं.४ मा किसान श्रेष्ठको जित गठबन्धनको साझा मतमा आधारित भए पनि व्यक्तिगत लोकप्रियताका हिसाबले एकवाल मिया र इच्छा बहादुर वाग्ले बढी प्रभावशाली देखिएको निष्कर्ष निकाल्न सकिन्छ। विशेषगरी हाल एमालेबाट उम्मेदवार रहेका किसान श्रेष्ठको २०७९ को व्यक्तिगत मतस्थिति हेर्दा, २०८२ मा एमालेबाट टिकट नपाएका एकवाल मिया र २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएका इच्छा बहादुर वाग्ले जनस्तरमा बढी चिनिएका र स्वीकार्य देखिएको तर्क अघि सारिएको छ।यसरी २०७९ को निर्वाचन परिणामले बारा क्षेत्र नं.४ को राजनीतिक परिदृश्यमा पार्टी मत र व्यक्तिगत लोकप्रियताबीचको स्पष्ट अन्तर उजागर गरेको छ। यही प्रवृत्तिको प्रभाव आगामी फाल्गुन २१ गते हुने निर्वाचनमा पनि देखिन सक्ने अनुमान गरिएको छ, जहाँ उम्मेदवारको व्यक्तिगत विश्वसनीयता र जनसम्पर्क फेरि निर्णायक बन्न सक्ने संकेत देखिएको छ।