बारा क्षेत्र नं. ४ ः बहुदलीय भिडन्त, ‘जेनजी’देखि पूर्व शक्तिकेन्द्रसम्मको परीक्षा

रञ्जन यादब /बारा

बारा क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ ३९ जनाको उम्मेदवारी दर्तासँगै यस क्षेत्रको निर्वाचन बहुआयामिक र चासोको विषय बनेको छ । २० जना राजनीतिक दलका उम्मेदवार र १९ जना स्वतन्त्र उम्मेदवारको उपस्थितिले मत विभाजनको सम्भावना उच्च देखिएको छ । यसले कुनै एक दलको सहज जितभन्दा पनि कडा प्रतिस्पर्धा र अप्रत्याशित नतिजाको संकेत गर्छ ।यस निर्वाचनको सबैभन्दा चर्चित पक्ष भनेको अनुभव र नयाँ पुस्ताबीचको प्रतिष्पर्धा हो ।

नेकपा एमालेका उम्मेदवार निबर्तमान सांसद तथा पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) र राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार पूर्व आईजीपी सर्वेन्द्र खनालजस्ता अनुभवी र पहिचान भएका व्यक्तिहरू मैदानमा छन् । उनीहरूको प्रशासनिक र राजनीतिक अनुभव मतदातामाझ बलियो आधार मानिन्छ ।त्यसको विपरीत नेपाली कम्युनिष्ट पार्टी नेपालबाट २७ वर्षीय ‘जेनजी’ युवा अजय कुश्वाहाको उम्मेदवारीले युवापुस्ताको प्रतिनिधित्व र परिवर्तनको आकांक्षा मुखर बनाएको छ । परम्परागत राजनीतिप्रति असन्तुष्ट युवा मतदातालाई आकर्षित गर्न सक्ने सम्भावना उनको पक्षमा देखिन्छ ।नेपाली कांग्रेसका श्यामबाबु गुप्ता र नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) पुराना मुख्यधारका दलका उम्मेदवार हुन् । कांग्रेस र एमालेबीचको परम्परागत प्रतिस्पर्धा यस क्षेत्रमा पनि दोहोरिएको छ । यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र विभिन्न साना दलहरूको सक्रियताले दुई दलीय ध्रुवीकरण कमजोर बन्ने संकेत देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अंसारीले वैकल्पिक राजनीतिका समर्थक मतदातालाई लक्ष्य बनाइरहेका छन् भने जनमत पार्टीका हमजान मियाले पहिचान र स्थानीय मुद्दालाई जोड दिँदै अभियान अघि बढाइरहेका छन् ।बारा क्षेत्र नं. ४ मा जातीय, धार्मिक र सामाजिक विविधता महत्वपूर्ण मत–आधारका रूपमा रहेको छ । मुस्लिम, मधेसी, थारु तथा पहाडी समुदायको मिश्रित बसोबास रहेको यस क्षेत्रमा उम्मेदवारहरूको सामाजिक पृष्ठभूमि र समुदायसँगको सम्बन्ध निर्णायक बन्न सक्छ । महिला उम्मेदवारको रूपमा मुनि खातुन र सरस्वती उपाध्यायको उपस्थितिले लैंगिक प्रतिनिधित्वको मुद्दा पनि चुनावी बहसमा आएको छ ।१९ जना स्वतन्त्र उम्मेदवारको सहभागिताले मत विभाजनलाई अझै जटिल बनाएको छ । स्वतन्त्र उम्मेदवारहरू संगठित राजनीतिक शक्ति नहुँदा जित कठिन देखिए पनि उनीहरूले मुख्य दलका मत काट्ने भूमिका खेल्न सक्छन् । यसले नतिजा अन्तिम चरणसम्म अनिश्चित बनाउने सम्भावना छ ।

रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, सिँचाइ, सडक तथा औद्योगिक विकास यस क्षेत्रका प्रमुख मुद्दा हुन् । साथै, युवाको विदेश पलायन, सीमावर्ती सुरक्षाका सवाल र सुशासन मतदाताको प्राथमिकतामा रहेको देखिन्छ । उम्मेदवारहरूले यी विषयमा कति विश्वसनीय योजना प्रस्तुत गर्छन् भन्ने कुराले मतदाताको निर्णयमा ठूलो प्रभाव पार्नेछ ।बारा क्षेत्र नं. ४ को निर्वाचन केवल जित–हारको प्रतिस्पर्धा मात्र होइन, पुरानो राजनीतिक अभ्यास र नयाँ सोचबीचको जनमत परीक्षण बनेको छ । बहुदलीय भिडन्त, स्वतन्त्र उम्मेदवारको संख्या र मतदाताको बढ्दो सचेतनाले यस क्षेत्रको नतिजा अनुमानभन्दा बाहिर जान सक्ने सम्भावना प्रबल छ । अबको केही दिनमा उम्मेदवारहरूको अभियान, एजेन्डा र जनसम्पर्कले कसले मतदाताको विश्वास जित्छ भन्ने कुरा स्पष्ट हुँदै जानेछ ।