निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन बारामा सरोकारवालाको साझा प्रतिबद्धता

रञ्जन यादब /बारा

आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले बारामा सरोकारवाला निकायहरूबीच समन्वय, सहकार्य र शान्तिको साझा प्रतिबद्धता व्यक्त गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा आइतबार जिल्ला समन्वय समिति बाराको सभाहलमा पत्रकारहरूसँग समन्वय बैठक सम्पन्न भएको हो।

बैठकमा बाराका चारै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरूले सञ्चारकर्मीलाई समयमै र सहज रूपमा सूचना उपलब्ध गराउने प्रतिबद्धता जनाए। बैठकमा बोल्दै बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले निर्वाचनलाई लक्षित गरी एकीकृत सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए। भारतसँग सिमाना जोडिएको संवेदनशील जिल्ला भएकाले बारा जिल्लाका लागि विशेष सुरक्षा योजना २०८२ तर्जुमा गरिएको उनको भनाइ थियो। प्रमुख जिल्ला अधिकारी मिश्राले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र अफवाहमुक्त बनाउन विभिन्न सुरक्षा टोली परिचालन गरिने बताए। साथै, निर्वाचन बिथोल्न सक्ने गतिविधि रोक्न सामाजिक सञ्जाल निगरानी टोलीसमेत गठन गरिएको जानकारी गराए। उनले शंकास्पद सामाजिक सञ्जाल सामग्री देखिएमा त्यसको स्क्रिनसट प्रमुख जिल्ला अधिकारी वा प्रहरी प्रमुखको मोबाइलमा पठाउन नागरिक र सञ्चारकर्मीलाई आग्रह गरे।

सुरक्षा निकायका प्रतिनिधिहरूले निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न विशेष योजना लागू गरिने जनाउँदै राजनीतिक दल, नागरिक र स्थानीय तहको सहयोग अपरिहार्य रहेको बताए। कुनै पनि शंकास्पद गतिविधि भएमा तत्काल सूचना दिन अनुरोध पनि गरिएको थियो। स्थानीय तहका प्रतिनिधिहरूले मतदान केन्द्र व्यवस्थापन, मतदाता सचेतना र सहजीकरणमा प्रशासन तथा सुरक्षा निकायसँग पूर्ण सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। यस्तै, राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता पालना गर्ने, समर्थकलाई संयमित बनाउने र मर्यादित प्रतिस्पर्धा सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।नागरिक समाज र सञ्चारकर्मीहरूले निष्पक्ष सूचना प्रवाह, अफवाह नियन्त्रण र सामाजिक सद्भाव कायम गर्न जिम्मेवार भूमिका निर्वाह गर्ने धारणा राखे।

निर्वाचनका बेला भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिले समाजमा नकारात्मक असर पार्न सक्ने भएकाले सबै पक्ष सचेत हुनुपर्नेमा उनीहरूको जोड थियो। बैठकको निष्कर्षमा आगामी फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन निरन्तर समन्वय, नियमित सूचना आदान–प्रदान र आपसी विश्वास अपरिहार्य रहेको ठहर गरिएको छ। निर्वाचनलाई लोकतन्त्र सुदृढ बनाउने साझा अवसरका रूपमा लिँदै शान्ति र सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्याइएको छ।

मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र कुमार साह, प्रहरी उपरीक्षक नरेन्द्र कुंवर, सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी, श्री रिपुमर्दन गणका प्रमुख सेनानी अशोक कुमार क्षेत्री, राष्ट्रिय अनुसन्धान कार्यालय बाराका उपनिर्देशक सरोज निरौला, जिल्ला निर्वाचन अधिकारी नविन चौधरी लगायतको सहभागिता रहेको थियो। यसैगरी, मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबारै राजनीतिक दलका प्रतिनिधिहरूसँग पनि छुट्टै छलफल गरेको जनाएको छ। बाराको ३ सय ५ वटा मतदानस्थलहरु मध्ये १ स४५ वटा अतिसंबेदनशील ,१ सय ८ संबेदनशिल र ५२ वटा समान्य मतदान स्थल रहेको बाराका प्रमुख जिल्ला अधिकारी मिश्राले बताए ।