रञ्जन यादब /बारा
राजमार्ग तथा सडक खण्डमा विभिन्न नाममा भइरहेका अवैध कर, शुल्क, चन्दा र असुली तत्काल रोक्न माग गर्दै बाराका जेनजी अगुवाहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।जेनजी अगुवाहरूले जिल्ला प्रशासन कार्यालय बारामा बुझाएको ज्ञापनपत्रमा जिल्लाको राजमार्ग तथा विभिन्न सडक खण्डमा स्थानीय समूह, व्यक्ति तथा गिरोहहरूले कर, शुल्क, चन्दा, दान र राजस्वको नाममा दैनिक रूपमा जबर्जस्ती पैसा उठाइरहेको उल्लेख रहेका ज्ञापन पत्र बुझाउँने र्काक्रममा सहभागी एक जेनजी अगुवा कुनाल राज गिरीले जानकारी दिए ।
यस प्रकारको गतिविधि गृह मन्त्रालयको स्पष्ट निर्देशन विपरीत रहेको उनीहरूको दाबी छ। ज्ञापनपत्रमा नेपाल सरकार, गृह मन्त्रालयले पटक–पटक अवैध असुली पूर्ण रूपमा बन्द गर्न आदेश जारी गरे पनि व्यवहारिक रूपमा भने अवैध रूपमा पैसा उठाउने कार्य खुलेआम भइरहेको जनाइएको छ। विशेषगरी त्रिभुवन राजपथ, लेन–विरगञ्ज सडक खण्डलगायत क्षेत्रमा यस्ता गतिविधि कायमै रहेको भन्दै यसबाट यातायात व्यवसायी, व्यापारी, किसान, भारतीय सवारी साधन तथा सर्वसाधारण नागरिक प्रत्यक्ष मारमा परेको उल्लेख छ ।
जेनजी अगुवाहरूले अवैध असुलीका कारण कानुनी शासन कमजोर बन्दै गएको, सामाजिक अशान्ति, विवाद र उद्यमशीलताको सुरक्षामा चुनौती उत्पन्न भएको समेत बताएका छन्।ज्ञापनमार्फत उनीहरूले राजमार्गमा भइरहेका सबै प्रकारका अवैध कर, शुल्क, चन्दा तथा राजस्व असुली तत्काल रोक्न कडा निर्देशन जारी गर्न, संलग्न व्यक्ति वा समूहलाई कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाउन, प्रहरी तथा सम्बन्धित निकायबीच समन्वय गरी नियमित निगरानी व्यवस्था मिलाउन तथा नागरिकहरू निर्भय र सुरक्षित रूपमा हिँडडुल गर्न सक्ने वातावरण सुनिश्चित गर्न माग गरेका छन्। ज्ञापन बुझ्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले विषय गम्भीर रहेको उल्लेख गर्दै आवश्यक अध्ययन र समन्वय गरी उचित कदम चालिने आश्वासन दिएको जेनजी अगुवाहरूले बताएका छन्।

