हातेमालो बचत तथा ऋण सहकारीद्वारा सार्वजनिक भ्रमबारे स्पष्टिकरण

रञ्जन यादब /बारा

बाराको सिमरामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक सञ्जालमा फैलाइएका भ्रामक तथा अपूर्ण सूचनाप्रति आपत्ति जनाउँदै यथार्थ विवरण सार्वजनिक गरेको छ । ंसंस्थाले सञ्चालन गर्दै आएको जीवनवृत्ति बचत योजना सम्बन्धमा बचतकर्तामाथि अन्याय गरिएको भन्ने आरोप सामाजिक सञ्जालमा उठेपछि त्यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। संस्थाका अनुसार योजना सञ्चालनका क्रममा संस्थाको आर्थिक अवस्था राम्रो रहेको भए पनि पछिल्लो समय मुलुकको समग्र आर्थिक मन्दीका कारण केही आर्थिक चुनौती देखिएको हो। संस्थाले स्पष्ट पारेअनुसार जीवनवृत्ति बचत योजनामा सहभागी अधिकांश सदस्य मध्यम तथा निम्न आय वर्गका छन्। हाल संस्थाले बचत लिन नरोकेको तर ऋण प्रवाह सीमित गर्दै तरलता व्यवस्थापनमा ध्यान दिएको जनाएको छ।

योजनाअनुसार बचतकर्ताले गरेको बचत र सहमतिपत्रमा उल्लेख भएबमोजिम कसैलाई पनि आर्थिक घाटा नपर्ने गरी कार्यक्रमको अवधि मात्र समायोजन गरिएको बताइएको छ। नियामक निकायको निर्देशनअनुसार ३ वर्षभन्दा बढी अवधिको बचत योजनामा समयावधि परिवर्तन गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै संस्थाले सोही आधारमा निर्णय गरिएको जनाएको छ। यस विषयमा १८ औं वार्षिक साधारण सभाबाट छलफल गरी अधिकतम १५ वर्षसम्म समयावधि कायम गर्न सकिने निर्णय भएको संस्थाको भनाइ छ । २०बर्षे अवधिलाई हेरफेर गरी १० बर्षमा र १० बर्ष पुरा भएको सदस्यहरुको हकमा १५ बर्षसम्म जम्मा गर्न सकिने गरी कार्यबिधिमा परिमार्जन गरेको छ ।संस्थाका अनुसार १० वर्षको समयावधि पूरा गरेका सदस्यहरूलाई रकम फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको छ भने बाँकी सदस्यहरूलाई पनि क्रमशः भुक्तानी गरिनेछ। साधारण सभाबाट पारित निर्णय सदस्य र संस्थाको दीर्घकालीन हितलाई मध्यनजर गरी गरिएको र सो निर्णय उपयुक्त, समयसापेक्ष तथा कानुनी रहेको दाबी गरिएको छ।

संस्थाले सार्वजनिक रूपमा फैलाइएका तथ्यहीन आरोपले संस्थाको छवि धूमिल गर्ने प्रयास भएको उल्लेख गर्दै यस्ता भ्रामक सूचनाबाट भ्रमित नहुन सबै शेयर सदस्य तथा सर्वसाधारणलाई आग्रह गरेको छ। सहकारीले पारदर्शिता, जवाफदेहिता र सदस्यको हितलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि जनाएको छ ।अध्यक्ष रामचन्द्र पौडेलद्वारा जारी सूचनामा यथार्थ बुझ्न संस्थाबाट आधिकारिक जानकारी लिन अनुरोध गर्दै सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरिएको छ। संस्थामा करिब ४५ सय शेयर सदस्यहरु आबद्ध रहेका जनाएको छ ।