रञ्जन यादब /बारा
नेपाल डेन्टल हाइजिनिष्ट एसोसिएसन (एनडिएचए) ले नेपाल डेन्टल एसोसिएसन(एनडिए) पर्सा शाखाबाट हालै जारी गरिएको विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाएको छ । एनडिएचए का सचिव उमेश कुमार महत्तोले प्रेस विज्ञप्ति जारी गर्दै उक्त विज्ञप्तिमा तथ्यहीन, भ्रामक तथा व्यक्तिको चरित्रहत्या हुने किसिमका विषयवस्तु समावेश गरिएको दाबी गर्नुभएको छ ।

सचिव महत्तोको हस्ताक्षरमा जारी विज्ञप्तिमा मिति २०८२ साल पौष १८ गते प्रकाशित एनडिए पर्सा शाखाको विज्ञप्तिले प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार एनडिएचए का केन्द्रीय संयाेजक तथा उपाध्यक्ष दिलिप कुमार यादव (राष्ट्रिय स्वतन्त्र पार्टी) लाई लक्षित गरी डेन्टिस्ट नभएको, दन्त स्वास्थ्यसम्बन्धी आवश्यक शैक्षिक योग्यता र आधिकारिकता नभएको भनी गरिएको प्रचारप्रति कडा आपत्ति जनाइएको छ ।विज्ञप्तिमा उल्लेख गरिएअनुसार दिलिप कुमार यादव पेशागत रूपमा डेन्टल हाइजिनिष्ट हुन् र उनी नेपाल सरकारको प्रचलित ऐन, नियम तथा मापदण्डअनुसार विधिवत् दर्ता भई लामो समयदेखि दन्त स्वास्थ्य सेवामा क्रियाशील रहँदै आएका छन् । उनी वीरगञ्जस्थित उज्ज्वल डेन्टल केयर एण्ड अर्थोडोन्टिक सेन्टर मार्फत सेवा प्रदान गर्दै आएको तथा नेपाल स्वास्थ्य व्यवसायी परिषदबाट लाइसेन्स प्राप्त आधिकारिक स्वास्थ्यकर्मी रहेको एनडिएचए ले स्पष्ट पारेको छ ।

सचिव महत्तोले केही मिडिया तथा सामाजिक सञ्जालमार्फत वस्तुगत सत्य नबुझी योजनाबद्ध रूपमा भ्रामक सूचना फैलाइएको भन्दै त्यसले दिलिप कुमार यादवको व्यक्तिगत तथा व्यावसायिक प्रतिष्ठामा गम्भीर क्षति पुगेको बताउनुभएको छ । सामाजिक सञ्जालमा ‘डा. दिलिप’ लेखिएको पोस्ट सेयर नगर्न गरिएको आग्रहलाई समेत गलत ढंगले व्याख्या गरी समाचार तथा विज्ञप्ति प्रकाशन गरिएको उहाँको आरोप छ ।विज्ञप्तिमा डेन्टल हाइजिनिष्ट र डेन्टिस्ट फरक–फरक पेशागत पहिचान भए पनि दन्त स्वास्थ्य सेवामा दुवैको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै, पेशागत मर्यादा र कानुनी सीमाभित्र रही सेवा दिइरहेका स्वास्थ्यकर्मीमाथि आधारहीन आरोप लगाइनु निन्दनीय र आपत्तिजनक रहेको जनाइएको छ ।
यसैबीच, एनडिएचए ले दिलिप कुमार यादवले रोहट क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको टिकटकाे मुख्य दाबेदार रहेकाे जानकारी पनि सार्वजनिक गरेको छ । निर्वाचनको संवेदनशील समयमा यस्ता भ्रामक प्रचार हुनु गम्भीर विषय भएको सचिव महत्तोले उल्लेख गर्नुभएको छ । मधेश प्रदेश पर्सा शाखाले यस्ता भ्रामक, तथ्यहीन तथा एकपक्षीय विज्ञप्ति र समाचार तत्काल हटाउन, सार्वजनिक रूपमा सच्याउन तथा भविष्यमा यस्ता गैरजिम्मेवार गतिविधि नगर्न सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ । साथै, सञ्चारमाध्यमलाई सत्य–तथ्यको पुष्टि गरी मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ ।

