रञ्जन यादब /बारा
बारा जिल्लाको पथलैया स्थित भिमेश्वर मध्यवर्ती सामुदायिक वनको १८औँ साधारणसभा पथलैयामा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन ब्यवस्थापन समितीका अध्यक्ष सिताराम अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यमा अध्यक्ष अर्यालले सामुदायिक वनका समूह तथा समितिहरू संघीय सरकारका ऐन–कानुन पालना गर्नुपर्ने तर प्रदेश सरकारअन्तर्गत रहनुपर्ने व्यवस्थाका कारण वन संरक्षण, प्रयोग र परिपालनामा व्यवहारिक समस्या देखिएको बताए।

कानुनी जटिलताका कारण पाइपलाइन निर्माणका क्रममा प्राप्त काठ बिक्री तथा वितरण गर्न नसकिएको र काठ कुहिने अवस्थामा पुगेको उनले उल्लेख गरे। “जहाँ जंगल हुन्छ, त्यहाँ सबैको कल्याण हुन्छ,” भन्दै उनले उपलब्ध स्रोत–साधनको बुद्धिमत्तापूर्वक उच्चतम उपयोग गर्नुपर्ने धारणा राखे। त्यसैगरी जनहित उपभोक्ता हित समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले वन संरक्षणका पक्षमा सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको बताए। उपभोक्ताहरूले कार्यसमितिलाई सचेत गराउने, वन संरक्षणमा लाग्ने, खबरदारी गर्ने र आवश्यक सल्लाह–सुझाव दिनुपर्ने उनको भनाइ थियो। वन, वन्यजन्तु तथा जडीबुटीको संरक्षण गर्नु सबैको दायित्व भएको र त्यसबाट आर्जित स्रोत–साधनको उपयोग गर्ने अधिकार पनि समुदायमा रहेको उनले स्पष्ट पारे। कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सन्तोष कुमार भगतले वन समूहहरूलाई वन संरक्षणसँगै वनको चार किल्ला सुरक्षित राख्ने जिम्मेवारी समेत रहेको बताए। उनले आफ्नो कार्ययोजना सम्पूर्ण उपभोक्ताबाट स्वीकृत गराएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

साधारणसभामा संस्थाका अध्यक्ष सुमन थापा मगरले समूहको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा वन, वातावरण तथा जीवजन्तुको संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, सहअस्तित्व प्रवद्र्धन र सदस्यहरूको जीविकोपार्जन तथा आर्थिक अवस्था सुधार गर्न पर्यटनमुखी कार्यक्रमहरू अवलम्बन गर्ने आवश्यकता औंल्याइएको छ। पर्या–पर्यटन, होम–स्टे, जंगल जिप सफारी, पिकनिक पार्क तथा वनसम्बन्धी घरेलु उद्योगजस्ता व्यवसायलाई आत्मसात गर्दै अगाडि बढ्ने योजना प्रतिवेदनमा समेटिएको छ। सदस्यहरूको जीविकोपार्जन र आर्थिक सुदृढीकरणका लागि पशुपालन तथा व्यवसाय सञ्चालनमा सहयोग पु¥याउन जनकल्याण मध्यवर्ती साकोस, सिमरा मार्फत १० लाख रुपैयाँको अक्षय घुम्ती कोष सञ्चालन गरिएको जानकारी पनि दिइएको छ। साथै समूहले सामाजिक तथा सामुदायिक कार्यक्रममार्फत समुदायलाई आर्थिक र भौतिक सहयोग गर्दै आएको जनाएको छ। समुहका कोषाध्यक्ष अर्जुन लम्सालले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । जुन सर्बसम्मत पारित भएको थियो । कार्यक्रममा भिमेश्वर मध्यवर्ति सामुदायिक बनका निबर्तमान अध्यक्ष पेशल कुमार मुल्मी ,राधा कृष्ण मध्यवर्ति सामुदायिक बनका अध्यक्ष सत्य बहादुर श्रेष्ठ ,जनकल्याण साकोस सिमराका अध्यक्ष मधुसुधन सिटौला लगायतको सहभागिता रहेको थियो ।



