सामुदायिक वनको साझा यात्रा ः थानी माई सामुदायिक वन समूहको २०औँ साधारणसभाबाट नयाँ प्रतिबद्धता,अध्यक्षमा पुनः अधिकारी

रञ्जन यादब \बारा

सिमराको हरियालीसँग जोडिएको एउटा साझा इतिहास फेरि एकपटक जीवित बन्यो, जब थानी माई सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २०औँ वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न ग¥यो। सामुदायिक सहभागिता, संरक्षणको चेतना र साझा उत्तरदायित्वको सन्देश बोकेको उक्त कार्यक्रम समूहका अध्यक्ष गोबिन्द अधिकारी(बिनोद)को सभाध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीव कुमार झा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभयो। उहाँले पानसमा बत्ती बालेर सभाको औपचारिक उद्घाटन गर्नुभएको क्षणले सामुदायिक वन व्यवस्थापनमा सरकार र उपभोक्ताबीचको सहकार्यको प्रतीकात्मक सन्देश दिएको थियो। वन अधिकृत विमल कुमार ठाकुर, वडा नं. २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ तथा जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठको उपस्थितिले कार्यक्रमलाई अझ गरिमामय बनाएको थियो।

सभामा स्थानीय जनप्रतिनिधि, विभिन्न सामुदायिक वन समूहका प्रतिनिधि, संस्थापक सदस्य तथा सहकारीकर्मीहरूको उल्लेख्य सहभागिता देखिन्थ्यो। वडा सदस्यहरू फुसुम देवी श्रेष्ठ र चित्रकुमारी बिकदेखि लिएर राधाकृष्ण मध्यवर्ती सामुदायिक वनका सत्य बि. श्रेष्ठ र भिमेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष सुमन थापा मगरसम्मको उपस्थितिले सामुदायिक वनको नेटवर्क कति बलियो बन्दै गएको छ भन्ने झल्को दिएको थियो।

स्वागत मन्तव्यमा समूहका कोषाध्यक्ष श्यामकृष्ण सुवेदीले थानी माई सामुदायिक वन समूहले विगत दुई दशकमा भोगेका चुनौती र हासिल गरेका उपलब्धिहरू स्मरण गर्नुभयो। उहाँले वन संरक्षणसँगै उपभोक्ताको जीविकोपार्जनमा समूहले पु¥याएको योगदानको चर्चा गर्नुभयो।सभाको दोस्रो सत्र आर्थिक र संस्थागत उत्तरदायित्वमा केन्द्रित रह्यो। कोषाध्यक्ष सुवेदीले आर्थिक वर्ष २०८१÷०८२ को आय–व्यय विवरण र आगामी आर्थिक वर्ष २०८२÷०८३ को अनुमानित आय–व्यय सभासमक्ष प्रस्तुत गर्नुभयो। पारदर्शितालाई प्राथमिकतामा राख्दै प्रस्तुत विवरणलाई सभाले सर्वसम्मत रूपमा पारित ग¥यो।

त्यसपछि सुरु भयो नेतृत्व चयनको प्रक्रिया। अमृतलाल श्रेष्ठको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय निर्वाचन समितिले आम सर्वसम्मतिबाट नयाँ नेतृत्व चयन ग¥यो। उपभोक्ताको विश्वास पुनः पाउँदै गोबिन्द बि. अधिकारी अध्यक्षमा दोहोरिनुभयो। उहाँसँगै उपाध्यक्षमा अम्बिका घिमिरे, सचिवमा सारदा रिजाल, सहसचिवमा सृजना रिमाल र कोषाध्यक्षमा श्यामकृष्ण सुवेदी चयन भए।नव निर्वाचित कार्यसमितिले बाँकी सदस्यहरू विधानअनुसार टोल समितिबाट चयन गर्ने निर्णय गर्दै समावेशी सहभागितालाई थप मजबुत बनाउने संकेत गरेको छ। सभाले वन संरक्षण, दिगो व्यवस्थापन र समुदायको समग्र विकासलाई जोड्दै आगामी दिनमा अझ सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै अधिवेशन सम्पन्न भयो।