बोनस विवादमा उद्योग बन्द गराउने प्रयासप्रति जगदम्बा स्टील्सको आपत्ति

बारा । जगदम्बा स्टील्स लिमिटेडले श्रमिक युनियनले हाल सञ्चालन गरेका गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ। कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा श्रमिक युनियनले बोनस वितरणको विषयलाई लिएर गलत सूचना प्रवाह गर्दै उद्योग बन्द गराउने वातावरण सिर्जना गर्न खोजिएको आरोप लगाएको छ।

विज्ञप्तिअनुसार श्रमिक युनियनले मिति २०८२/०८/०९ गते पत्रकार सम्मेलन गरी उद्योगको आन्तरिक विषयवस्तु र व्यवस्थापनसम्बन्धी कुरालाई अतिरञ्जित ढंगले प्रस्तुत गरेको जनाइएको छ। बोनस ऐन तथा प्रचलित कानुनअनुसार आफूहरूले पाउने बोनस रकम नपाएको भन्दै युनियनले गैरकानुनी रूपमा रकम माग गर्दै दबाब सिर्जना गरेको कम्पनीको दाबी छ।

कम्पनीले बोनस वितरणसम्बन्धी विवाद समाधानका लागि श्रम कार्यालय वीरगञ्जमा समेत निवेदन दिएको र सो विषय अदालतसम्म पुगेको जनाएको छ। उक्त मुद्दामा अदालतबाट विवाद निरूपण भइसकेको अवस्थामा पनि कानुनी उपचार नखोजी पुनः बोनसको बहानामा उद्योग बन्द गराउने, पत्रकार सम्मेलन गर्ने तथा सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण सामग्री प्रसारण गर्ने कार्य गैरजिम्मेवार भएको विज्ञप्तिमा उल्लेख छ।
जगदम्बा स्टील्सले प्रचलित ऐन र नियमअनुसार कर्मचारी तथा श्रमिकलाई बोनस उपलब्ध गराउन आफूहरू सधैं तयार रहेको स्पष्ट पारेको छ। साथै अन्य उद्योगमा अपनाइएको व्यवहार जस्तै यही उद्योगमा पनि युनियनले दबाब, धम्की र अवरोध सिर्जना गरेको आरोप लगाइएको छ।

अन्ततः कम्पनीले कम्पनी बोनस ऐन, २०३० अनुसार नियमसम्मत रूपमा बोनस वितरण गर्न तयार रहेको जानकारी गराउँदै उद्योग शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ।