रञ्जन यादब /बारा
सिमरा रंगशालामा मंगलबार बिहान बालबालिकाको उत्साह र मुस्कानले छुट्टै रौनक देखियो। हातमा नयाँ फुटबल समातेका विद्यार्थीहरू खेलमैदानतर्फ दौडिरहेका थिए। यही दृश्यसँगै बारामा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम औपचारिक रूपमा सुरु भयो। विद्यालय तहका बालबालिकालाई फुटबलप्रति आकर्षित गर्ने उद्देश्यसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले बारा जिल्लामा कार्यक्रम सञ्चालन गरेको हो।
बारा जिल्ला फुटबल संघको समन्वयमा आयोजित कार्यक्रममा १७ वटा विद्यालयलाई फुटबल सामग्री हस्तान्तरण गरियो। कार्यक्रमले कक्षा कोठाभन्दा बाहिर खेलमैदानमै सिकाइको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।कार्यक्रम उद्घाटन गर्दै एन्फा केन्द्रीय उपाध्यक्ष दावा लामाले आजका बालबालिका मोबाइल र डिजिटल संसारमा बढी सीमित हुँदै गएकाले उनीहरूलाई खेलकुदतर्फ फर्काउनु समयको आवश्यकता भएको बताए। खेलाडी उत्पादन मात्रै लक्ष्य नभई विद्यार्थीलाई स्वस्थ, सक्रिय र अनुशासित बनाउने उद्देश्यले ‘फिफा फुटबल फर स्कुल’ सुरु गरिएको उनको भनाइ थियो। “खेलले बालबालिकाको शारीरिक विकास मात्र होइन, मानसिक सन्तुलन र सामाजिक व्यवहारमा पनि सकारात्मक प्रभाव पार्छ,” उनले भने।१४ वर्षमुनिका विद्यार्थीलाई लक्षित गरी विश्व फुटबल महासंघ (फिफा) ले विश्वभर सञ्चालन गरिरहेको यो कार्यक्रम हाल १३७ देशमा विस्तार भइसकेको छ। नेपालमा पनि ७७ वटै जिल्लाका १९३ विद्यालयमा कार्यक्रम लागू हुँदै आएको छ।
फिफाले यस अभियानका लागि नेपाललाई ३३ हजार ६ सय ४० थान फुटबल उपलब्ध गराएको छ, जसलाई एन्फाले चरणबद्ध रूपमा विद्यालयहरूमा वितरण गरिरहेको छ।बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाका अनुसार विद्यालयस्तरमै फुटबल संस्कृतिको विकास भए मात्र भविष्यमा स्वस्थ र सक्रिय पुस्ता तयार गर्न सकिन्छ। “बाल्यकालमै खेलकुदसँग जोडिन पाएका विद्यार्थी जीवनभर सक्रिय रहन्छन्,” उनले विश्वास व्यक्त गरे।रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन्फा मधेश प्रदेशका कोषाध्यक्ष शम्भुसिंह ठकुरी, महासचिव दीपक साह, बारा जिल्ला फुटबल संघका महासचिव रामकृष्ण श्रेष्ठसहित जिल्लाका पदाधिकारी तथा विभिन्न विद्यालयका प्रतिनिधिहरू सहभागी थिए। खेलमैदानमा गुड्न थालेका नयाँ फुटबलसँगै बाराका विद्यालयमा अब फुटबल संस्कृतिको नयाँ यात्रा सुरु भएको छ। यो यात्रा बालबालिकाको स्वास्थ्य, अनुशासन र उज्यालो भविष्यतर्फ केन्द्रित रहने अपेक्षा गरिएको छ।

