जगदम्बा स्टील्समा २०८०÷०८१ को बोनस नदिएको भन्दै मजदुर युनियनको कडा आपत्ति,माग पुरा नगरे दिए उद्योगको कामकाज ठप्प पार्ने चेतावनी

रञ्जन यादब /बारा

जगदम्बा स्टील्स लिमिटेड सिमरामा कार्यरत मजदुरहरूले आर्थिक वर्ष २०८०÷०८१ को सम्झौताअनुसार पाउनुपर्ने बोनस हालसम्म नपाएको भन्दै आधिकारिक ट्रेड युनियनले कडा असन्तोष व्यक्त गरेको छ। नेपाल औद्योगिक मजदुर संघसँग आबद्ध जगदम्बा स्टील्स मजदुर युनियनले सिमरामा पत्रकार सम्मेलन गर्दै उद्योग व्यवस्थापनको गैरजिम्मेवार रवैयाका कारण श्रमिकहरू गम्भीर समस्यामा परेको जनाएको हो।

युनियनका अनुसार बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२ मा सञ्चालित उक्त उद्योगमा कार्यरत श्रमिकहरूले सम्झौताबमोजिम पाउनुपर्ने बोनस समयमै नपाउँदा यस वर्ष दसैं–तिहारजस्ता महत्वपूर्ण चाडपर्वसमेत उचित रूपमा मनाउन नपरेको अवस्था सिर्जना भएको छ। बोनस वितरण गर्नुपर्ने विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि उद्योग व्यवस्थापन पक्षले बेवास्ता गर्दै आएको युनियनको आरोप छ।विज्ञप्तिमा उद्योग व्यवस्थापन पछिल्लो करिब तीन महिनादेखि उद्योगमै अनुपस्थित रहँदै आएको उल्लेख गरिएको छ।

व्यवस्थापनको यस्तो उदासीनताका कारण उद्योगमा श्रम ऐन तथा नियमावली विपरीत गतिविधि बढ्दै गएको र नियमित सञ्चालनमा समेत असर परेको युनियनको भनाइ छ।युनियनले ठेकेदारमार्फत काम लगाइएका श्रमिकलाई न्यूनतम पारिश्रमिकसमेत नदिइएको, सामाजिक सुरक्षा कोषमा श्रमिकको तर्फबाट कट्टा गरिएको रकम बराबर कम्पनीले थप गर्नुपर्ने २० प्रतिशत योगदान नगरेको गम्भीर आरोप लगाएको छ। साथै उद्योगमा व्यवसायजन्य सुरक्षाको उचित व्यवस्था नहुँदा श्रमिकहरूले काम गर्ने क्रममा दुर्घटनामा परेर ज्यान गुमाउनुपर्ने अवस्था आएको समेत जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।समस्याको समाधानका लागि युनियनले उद्योग व्यवस्थापनसँग तत्काल संवाद र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

मागहरू सम्बोधन नगरिए श्रमिकहरूको आक्रोश थप बढ्न सक्ने र त्यसबाट उत्पन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी उद्योग व्यवस्थापनले नै लिनुपर्ने चेतावनी युनियनले दिएको छ। साथै, मजदुरका जायज मागहरू तत्काल पूरा गराउन सम्बन्धित सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराइएको युनियनका अध्यक्ष दीपक कार्कीले जनाएका छन्। पुष १० गते सम्म आफुहरुको माग पुरा नगरे उद्योगको कामकाज सबै ठप्प पार्ने उनले चेतावनी दिएका छन् ।कार्यक्रममा उपस्थित जीतपुरसिमरा उपमहानगर क्षेत्रका नेकपा एमाले ,नेपाली काग्रेस ,नेपाली कम्युनिष्ट पाटी र राष्ट्रिय स्वतन्त्र पाटीका नगर नेताहरुले मजदुरहरुको मागप्रती एकबद्धता जनाउँदै आफनो पार्टीको साथ र सहयोगरहने बताएका थिए ।