जनकल्याण मध्यवर्तीको नयाँ कार्यसमिति औपचारिक रूपमा जिम्मेवारीमा प्रवेश

रञ्जन यादब /बारा

जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नेतृत्वमा नयाँ कार्यसमिति औपचारिक रूपमा जिम्मेवारीमा प्रवेश गरेको छ । सोमबार आयोजित कार्यक्रममा हालै सम्पन्न निर्वाचनबाट चयन भएका संचालक समिति तथा लेखा समितिका पदाधिकारीहरूले सपथ लिँदै आ–आफ्नो पदभार सम्हालेका हुन् ।

मंसिर २७ गते सम्पन्न संस्थाको २३औँ वार्षिक साधारणसभाबाट मधुसुदन सिटौलाको अध्यक्षतामा नौ सदस्यीय संचालक समिति निर्वाचित भएको थियो । नयाँ समितिमा उपाध्यक्षका रूपमा निरु बजगाईं अधिकारी, सचिवमा रवीन्द्र खकुरेल र कोषाध्यक्षमा होमबहादुर रकाल चयन भएका छन् । त्यस्तै, संचालक सदस्यमा अर्जुन लम्साल, तीर्थकुमारी गौतम, राजेन्द्र सुवेदी, विष्णु घिमिरे र अलि अदिदले जिम्मेवारी पाएका छन् ।संस्थाको आर्थिक अनुशासन तथा पारदर्शिताको निगरानी गर्ने लेखा समितिको संयोजकमा चेतनाथ रिमाल चयन भएका छन् भने सदस्यहरूमा शालिकराम रेग्मी र ध्रुव नेपाल रहेका छन् । नवनिर्वाचित सबै पदाधिकारी तथा सदस्यलाई निर्वाचन समिति सदस्य अमृतलाल श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण समारोहमा पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगत, विभिन्न मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरू, संस्थाकी निवर्तमान अध्यक्ष कमला घिमिरे, व्यवस्थापक सुरेन्द्र भट्ट, पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण रिमाल तथा सल्लाहकार मदनबहादुर क्षेत्रीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।कार्यक्रम निर्वाचन समिति सदस्य अमृतलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन रामप्रसाद पोखरेलले गरेका थिए ।२०५९ सालमा २६ जना शेयर सदस्यबाट स्थापना भएको जनकल्याण सहकारीमा हाल करिब दुई हजार शेयर सदस्य आबद्ध छन् । सहकारीले हाल झण्डै २० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार सञ्चालन गर्दै आएको छ ।