सिमरा–डुमरवाना अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि एस.पि.ई.स. र मिसन एकेडेमीको कब्जामा

रञ्जन यादब /बारा

बाराको सिमरा रंगशालामा सम्पन्न भएको सिमरा–डुमरवाना अन्तरविद्यालय फुटबल प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा सिनियरतर्फ सिमरा पब्लिक इङ्लिस स्कुल र जुनियरतर्फ मिसन एकेडेमीले यस वर्षको उपाधि आफ्नो बनाएका छन्।

सिनियरतर्फ सिमरा पब्लिकले मिसन एकेडेमीमाथि १–० को कठिन जित निकाल्दै च्याम्पियन बनेको हो। टिमका कप्तान सुमन साहले गरेको निर्णायक गोलले सिमरा पब्लिकलाई उपाधि दिलायो। उता, जुनियर समूहमा मिसन एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै स्नो एपेक्स एकेडेमीलाई २–० ले हरायो। मिसनका राजदीप धामी र सन्देश चौधरीले गोल गर्दै टोलीलाई उपाधि दिलाए।प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मानित पनि गरिएको थियो। सिनियर समूहमा सिमरा पब्लिकका सुजन घलान र जुनियर समूहमा मिसन एकेडेमीका राजदीप धामी ‘प्लेयर अफ दि टूर्नामेन्ट’ घोषित भए। सर्वाधिक गोलकर्ता सिनियरतर्फ चार गोल गरेका कप्तान सुमन साह र जुनियरतर्फ पाँच गोल बटुलेका स्नो एपेक्सका रोशन साह बने।

उत्कृष्ट गोलरक्षकको उपाधि सिनियरतर्फ सिमरा पब्लिकका मनिष खनाल र जुनियरतर्फ पाथीभरा इङ्लिस एकेडेमीका विश्वास पराजुलीले पाए।फाइनल खेलका ‘प्लेयर अफ दि म्याच’ सिनियरतर्फ मिसन एकेडेमीका प्रिन्स थापामगर र जुनियरतर्फ मिसनकै सन्देश यादव घोषित भए। विजेता तथा उपविजेतालाई बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा, सिमरा कलेजका सहप्राध्यापक शालिकराम अधिकारी, एकता स्कुलका प्रध्यानाध्यापक मदन रिजाल र सिमरा–डुमरवाना हबका संयोजक बसन्त ढकाललगायतले पुरस्कार वितरण गरे। सिमरा–डुमरवाना हबको आयोजनामा भएको प्रतियोगितामा सिमरा र डुमरवाना क्षेत्रका १२ निजी विद्यालयको सहभागिता रहेको थियो। खेलकुदमार्फत विद्यार्थीहरूको क्षमता विकास र विद्यालयहरूबीच आपसी समन्वय अभिवृद्धि गर्ने उद्देश्यसहित हबले विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।