रञ्जन यादब /बारा
बाराको सिमरा स्थित सिमरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन मिति तय गरिएको छ। बुधबार दिउँसो सिमरा खानेपानी कार्यालयमा पत्रकार सम्मेलन गर्दै निर्वाचन समितिले आगामी मंसिर ६ गते मतदान हुने गरी सम्पूर्ण तालिका सार्वजनिक गरेको हो।निर्वाचन कार्यक्रमअनुसार कार्तिक २० गतेदेखि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ।

सोही दिन अपरान्ह ४ बजे मतदाताको प्रारम्भिक नामावली सार्वजनिक गरिने निर्वाचन समितीले जनाएको छ । समितीले कार्तिक २२ गतेसम्म दाबी–विरोध पेश गर्न सकिने र कार्तिक २३ गते अन्तिम नामावली प्रकाशित गर्नेछ । त्यसपछि कार्तिक २५ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म ११ सदस्यीय कार्यसमितिका लागि मनोनयन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। दर्ता भएका उम्मेदवारीको छानबिनपछि समितिले कार्तिक २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ र सोही दिन चुनाव चिन्ह पनि प्रदान गरिने निर्वाचन समितीका प्रमुख निर्वाचन अधिकृत शालिकराम अधिकारीले जानकारी दिए ।
कार्तिक ३० गते नमूना मतपत्र सार्वजनिक गरेसँगै प्रचार–प्रसारको अवधि सुरु हुनेछ, जुन मंसिर ४ गते राति १२ बजेसम्म रहनेछ। त्यसपछि मौन अवधि सुरु हुने र मंसिर ६ गते मतदान सम्पन्न गरिने कार्यक्रम रहेको समितिले जनाएको छ। निर्वाचनलाई मर्यादित ,ब्यवस्थित र कानुनसंबत तरिकाले सम्पन्न गराउँन शालिकराम अधिकारीको संयोजकत्वमा ५ सदस्सीय समिती निर्माण गरिएको छ । जसमा निर्वाचन अधिकृत गंगा प्रसाद मैनाली र अम्बिका घिमिरे रहेका छन् । त्यस्तै सदस्यहरुमा नवराज न्यौपाने र शरदचन्द्र भट्टराई रहेका छन् ।

