रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिका–७, जीतपुरमा फेरि एक हृदयविदारक घटना घटेको छ । करिब महिना दिनअघि मगर टोलमा १० महिनाकी बालिका अलपत्र अवस्थामा फेला परेकी थिइन् । उनका अभिभावक अझैसम्म पत्ता लाग्न सकेका छैनन् ।त्यो घटनाको एक महिना नपुग्दै, त्यही वडा–७ कै छठीमाई घाट नजिकै भर्खरै जन्मिएको एक नवजात शिशु फेला परेको छ ।
स्थानीयले घाट नजिकै रोइरहेको शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय जीतपुरको टोली घटनास्थल पुगेर बालकलाई उद्धार गरी आफ्नो जिम्मामा लिएको हो ।बालकको स्वास्थ्य परीक्षण सिमरा अस्पतालमा गरिएको छ । अस्पताल स्रोतका अनुसार बालकको अवस्था सामान्य रहेको छ ।फेला परेको शिशु १।२ दिन को जस्तो देखिँन्छ ।लगातार छोटो अवधिमा दुई निर्दोष बालबालिकालाई छोडिएको घटनाले स्थानीयवासी स्तब्ध बनेका छन् । समाजमा बढ्दो यस्तो संवेदनहीन प्रवृत्तिप्रति उनीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

