चार जना मानिस मार्ने बाघ नियन्त्रणमा नआउँदा स्थानीयमा त्रास, नियन्त्रणको प्रयास जारी तर सफलता प्राप्त भएन्

रञ्जन यादब /बारा

बाराको जितपुरसिमरा उपमहानगरमा मानिसलाई आक्रमण गरेर मार्ने बाघ नियन्त्रणको प्रयास गरिएपनि बन कार्यालय र निकुञ्ज सफल हुनसकेको छैन् । जसले गर्दा स्थानीयवासीमा त्रास बढ्दै गएकोछ । तीन महिनाको अवधिमा मात्र जीतपुरसिमरा उपमहानगरपालिकाको विभिन्न जंगल क्षेत्रमा बाघको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् ।

पहिलो घटना गत असार ४ गते वडा नं.२२ को दक्षिणकाली सामुदायिक बनमा बाख्रा चराउँदै गरेका चन्द्र बहादुर भ्लोनलाई बाघले आक्रमण गर्दा मृत्यु भएको थियो । दोस्रो घटना भाद्र ११ गते वडा नं.२१ पथलैया–अमलेखगंज सडक खण्ड नजिक घाँस काट्न गएका कृष्ण कुमार शर्मा मृत फेला परे । तेस्रो घटना भाद्र १८ गते रमेश कार्की हराएको केही दिनपछि जंगलमा उनको शव भेटिएको थियो, जसमा बाघको आक्रमणको आशंका गरिएको छ । चौथो घटना भाद्र २२ गते वडा नं.१ मा च्याउ टिप्न गएका छेवाङ लामा बाघको आक्रमणमा परी ज्यान गुमाएका थिए ।

लगातार मानवीय क्षति भएपछि डिभिजन वन कार्यालय बारा र पर्सा राष्ट्रिय निकुञ्जले संयुक्त रूपमा नियन्त्रण तथा व्यवस्थापनका प्रयासलाई तीव्र पारेका छन् । समस्याग्रस्त बाघको पहिचानका लागि विभिन्न स्थानमा क्यामेरा ट्र्याप जडान, प्राविधिक टोली, हात्ती तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । साथै, सौराहा चितवनबाट विशेष डार्टिङ टोली समेत ल्याइएको छ तर अहिलेसम्म बाघलाई नियन्त्रणमा लिन सफल हुन नसकेको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए ।

बाघ नियन्त्रणका लागि लाइभ बेइटिङ (जिवित पाडो प्रयोग) सहितका प्रयास भइरहेका भए पनि प्राविधिक टोलीले अझै सफलता हात पारेको छैन । यसबीचमा पर्सा राष्ट्रिय निकुञ्जले स्थानीयवासीलाई अत्यन्त सतर्क रहन आग्रह गर्दै सूचना जारी गरेको छ । निकुञ्जले वन क्षेत्रमा अनावश्यक प्रवेश नगर्न, च्याउ टिप्न वा अन्य काममा जाँदा समूहगत रूपमा मात्र जान र प्रभावित क्षेत्रमा यातायात आवागमन आवश्यकतानुसार रोक्ने व्यवस्था मिलाइएको जनाएको छ ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले स्थानीय तह, सुरक्षा निकाय तथा उपभोक्ता समूहहरूसँग सहकार्य गर्दै समस्या समाधानका लागि पहल भइरहेको बताए । डिभिजन वन कार्यालय बारा र पर्सा राष्ट्रिय निकुञ्जले संयुक्त विज्ञप्ति जारी गर्दै समस्याग्रस्त बाघ नियन्त्रणका लागि प्रयास निरन्तर जारी रहने जानकारी गराएका छन् ।