रञ्जन यादब/बारा
जेनजी आन्दोलनका कारण चार दिनदेखि ठप्प रहेका जितपुरसिमरा उपमहानगरपालिकाभित्रका विद्यालय र वडा कार्यालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन्। शनिबार बिहान नगरप्रमुख राजन पौडेलले सामुदायिक तथा संस्थागत विद्यालयका सञ्चालकहरूसँगको छलफलपछि पठनपाठन पुनः सुरु गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
आन्दोलनका क्रममा २४ मध्ये ६ वटा वडा कार्यालयमा आगजनी र तोडफोड भई ठूलो क्षति पुगेको नगरप्रमुख पौडेलले बताए। उनका अनुसार क्षतिग्रस्त वडा कार्यालयबाट सेवा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सम्बन्धित वडाध्यक्ष र वडा सचिवहरूले निर्णय गर्नेछन्।यस्तै, पञ्जीकरण, जिन्सी शाखा र राष्ट्रिय परिचयपत्रसम्बन्धी कागजात जलाइएपछि तत्कालै राष्ट्रिय परिचयपत्र सेवा दिन नसकिने अवस्था सिर्जना भएको उनले स्पष्ट पारे।मंगलबारदेखि बन्द भएका विद्यालय र वडा कार्यालय आइतबारदेखि सञ्चालनमा आउनु उपमहानगरवासीका लागि राहत हुने अपेक्षा गरिएको छ।