बारा ४ का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) को घरमा आगजनी, १० करोडको क्षति

रञ्जन यादब /बारा

बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) को घरमा भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा आगजनी हुँदा ठुलो क्षति भएको छ। श्रेष्ठको निजि घर र घरभित्र पार्किङमा राखिएका चारवटा गाडीमा आगजनी भएको हो।श्रेष्ठका अनुसार आगजनीबाट करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ।

घटना हुँदा श्रेष्ठसहित उनको परिवार भारतमा रहेको बताइएको छ ।श्रेष्ठले यस घटनालाई सुनियोजित र नियतबश गरिएको भन्दै “मैले एक पैसा भ्रष्टाचार गरेको छैन, खाने कुरा नै छैन। म हुने खाने परिवारबाट पर्छु। राजनीति पैसा कमाउन आएको हैन, मेरो आफ्नै व्यापार व्यवसाय छ,” भनेका छन्।श्रेष्ठले घरभन्दा अलि पर रहेका उनको कान्छो छोराले सुरु गर्न लागेको र उद्घाटनसमेत नगरेको उद्योग पनि आगजनीमा जलेको जनाएका छन्।उनले आगजनीमा संलग्न एक–एक व्यक्तिको पहिचान भइसकेको दाबी गर्दै रास्वपा, नेपाली कांग्रेस, एमाले र माओवादी दलका युवाहरु संलग्न रहेको बताएका छन्।

“शान्तिपूर्ण र निष्पक्ष आन्दोलनमा घुसपैठ गर्नेहरुलाई छोडिन्न, उनीहरु विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउँछु,” श्रेष्ठले चेतावनी दिएका छन्। भाद्र २२ गतेदेखी प्रतिनिधि सभा सदस्य श्रेष्ठ बुवाको श्राद्ध गर्न स परिवार सहित भारतको बनारसको काशीमा रहेको बेला यस्तो घट्ना घटेको थियो । भाद्र २४ गते देशभरी भएको प्रदर्शनका क्रममा उनको बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ औराहामा रहेको नीजि निवास र नीजि सवारी साधनहरुमा तोडफोड र आगजनी गरिएको थियो ।