रञ्जन यादब /बारा
छिमेकी वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा हैजाको संक्रमण पुष्टि भएपछि यसको प्रभाव जीतपुरसिमरा उपमहानगरपालिकामा समेत फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले सतर्कता अपनाएको छ ।उपमहानगरपालिकाले हैजाको संक्रमण नियन्त्रण र रोकथामका लागि विभिन्न उपायहरु अवलम्बन गरेको जनाएको छ।
जीतपुरसिमरा नगर अस्पताल, सिमरामा हैजा उपचारका लागि आवश्यक तयारी मिलाइएको छ भने सम्पूर्ण स्वास्थ्यकर्मीलाई हाई–अलर्ट मा राखिएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए ।त्यस्तै, विभिन्न स्वास्थ्य संस्थामार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उपमहानगरले जनाएको छ। महामारी नियन्त्रण तथा उपचारका लागि ९ सदस्यीय द्रुत प्रतिकार्य टोली (च्बउष्म च्भकउयलकभ त्भबm) समेत गठन गरिएको छ ।उपमहानगरपालिकाले नगरवासीलाई सतर्क रहन, खानेपानी शुद्धिकरण गरेर मात्र प्रयोग गर्न र कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ।
‘भिब्रियो कोलेरा’ नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गरेको जनस्वास्थ्य प्रबर्धन शाखा प्रमुख भाष्करले जानकारी दिए । हैजा लाग्दा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानीको कमी भइ मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गर्छ । उमालिएको वा निर्मलीकरण गरिएको पानी मात्र पिउन, तरकारी तथा हरियो सागपात राम्ररी पखालेर मात्र पकाएर खान, बासी खाना नखान, साबुनपानीले पटक–पटक हात धुन, शौचालयको प्रयोग गर्न आग्रह जनस्वास्थ्य प्रबर्धन शाखाले जनाएको छ ।