ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, जीतपुरले भब्य रुपमा श्रीकृष्ण जन्माष्टमी मनायो

रञ्जन यादब /बारा

श्रीकृष्ण जन्माष्टमीको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, जीतपुरले आयोजना गरेको विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। सत्युगी दुनियाँको चैतन्य झाँकी, प्रवचन तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई धार्मिक र सांस्कृतिक पर्वको रंगमा रंगाएको थियो। कार्यक्रमको अध्यक्षता केन्द्र प्रमुख सञ्चालिका तथा बालब्रह्मचारिणी तपस्विनी रेनु दिदीले गर्नुभएको थियो।

प्रमुख अतिथि प्रदेशसभा सदस्य देवनारायण चौधरी, विशिष्ट अतिथि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष दिपेन्द्र चौधरी, उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरी, पूर्व महासचिव शिवजी साह सोनार, समाजसेवी गणेशजी साह ,कन्हैया गुप्ता लगायतको विशेष उपस्थिति रहेको थियो। बालबालिकाद्वारा प्रस्तुत गरिएको कृष्ण–राधाको आकर्षक झाँकी र विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य तथा सांस्कृतिक कार्यक्रमले उपस्थितलाई मन्त्रमुग्ध बनाएको थियो।

आफ्नो प्रवचनमा रेणु दिदीले भगवान् श्रीकृष्णको आदर्श जीवनशैली र शिक्षाको महत्त्वलाई जोड दिँदै सत्य, धर्म र कर्मयोगको बाटोमा लाग्न सबैलाई प्रेरित गर्नुभयो।कार्यक्रममा सहभागी भक्तजन तथा अतिथिहरूले यसलाई धार्मिक आस्था मात्र नभई सांस्कृतिक ऐक्यबद्धताको प्रतीकका रूपमा लिएको प्रतिक्रिया दिएका थिए।