रञ्जन यादब /बारा
‘श्रम गरौं, उत्पादन बढाऔं’ भन्ने नारासहित वाईसीएल नेपालले राष्ट्रिय स्तरको दुई महिनाको श्रम तथा उत्पादन अभियान बाराको कोल्हवी नगरपालिका–९ अडेम्बा बिर्ताबाट शुक्रबार औपचारिक रूपमा सुरु गरेको छ । अभियानको प्रारम्भिक दिनमै २५ सयभन्दा बढी बिरुवा रोपिँदै वृक्षारोपणसँगै सरसफाइ, श्रमप्रति चेतना अभिवृद्धि र युवामा उत्पादनको महत्वबारे जनचेतनामूलक गतिविधि सम्पन्न गरियो।
कार्यक्रम वाईसीएल बारा अध्यक्ष सिकेन्द्र कुसवाहाको अध्यक्षतामा भएको थियो। उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज अनिल श्रेष्ठले समृद्धिको आधार श्रम र सिर्जनशील उत्पादन भएको उल्लेख गर्दै युवालाई स्वावलम्बन र सामूहिक प्रयासमार्फत देश रूपान्तरणमा अग्रसर हुन आह्वान गरे। उनका अनुसार बेरोजगारी घटाउने र आत्मनिर्भर समाज निर्माण गर्न उत्पादनमुखी अभियानको आवश्यकता थियो।
कार्यक्रममा वाईसीएल मधेस प्रदेश इन्चार्ज देवसरण कानु, बारा इन्चार्ज रुकु पाख्रीन, केन्द्रीय सदस्य राजन पौडेल, प्रदेश सदस्य रविराज दंगाल, तपेश्वर चौधरी, देवेन्द्र पराजुली र निजगढ नगर कमिटी अध्यक्ष सन्तोष दंगालको सहभागिता थियो।वक्ताहरूले श्रम र उत्पादनलाई राष्ट्रिय गौरवको विषयका रूपमा स्थापित गर्न र युवालाई सिर्जना तथा संगठनमा सक्रिय बनाउन जोड दिए।वाईसीएलका अनुसार अभियान अन्तर्गत वृक्षारोपण, साना उद्यम प्रवद्र्धन, वातावरण संरक्षण र सामुदायिक उत्पादनमा सहकार्यजस्ता गतिविधि सञ्चालन गरिने छन्। अभियान आगामी दुई महिनासम्म देशका विभिन्न जिल्लामा चरणबद्ध रूपमा विस्तार हुँदै जानेछ।