बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ जानकी टोलस्थित एक घरमा जुवा तास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो करिब ३ बजे विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले जानकी टोलमा बसोबास गर्दै आएका केशव सुनुवारको घरमा छापा मारेको हो।
घरको तेस्रो तल्लाको कोठामा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेहरू सबै जीतपुर र सिमरा क्षेत्रका बासिन्दा हुन्। उनीहरूको साथबाट नगद एक लाख चौवन्न हजार छ सय अस्सी रुपैयाँसहित तासका गड्डीहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ।