रञ्जन यादब /बारा
डिभिजन बन कार्यालय बाराले मिडियाकर्मी, बन कर्मचारी, जनप्रतिनिधि तथा सरोकारवाला पदाधिकारीहरुको सहभागितामा संयुक्त अनुगमन टोली गठन गरी विभिन्न बन क्षेत्रको अवलोकन तथा अनुगमन गरेको छ ।
अनुगमन टोलीले निजगढ नगरपालिकास्थित सिंगोल क्षेत्रमा करिब २०.५ हेक्टर बन भूभाग अतिक्रमण गरी गरिएको केरा खेती फाडेर १३ हेक्टर क्षेत्रमा गरिएको वृक्षारोपणको अवलोकन गरेको छ। साथै, निजगढमै जडिबुटीका बिरुवाहरूको वृक्षारोपण र बन संरक्षणको प्रयासस्वरूप निर्माण गरिएको पोखरीको पनि निरीक्षण गरिएको थियो।त्यसैगरी गढीमाई साझेदारी बन,पथलैया क्षेत्रमा गरिएको काठ उत्पादन, दुधौरा क्षेत्रमा बन संरक्षण अन्र्तगत बनाइएको तटबन्ध, हलखोरिया साझेदारी बनमा गरिएको वृक्षारोपण लगायत विभिन्न प्रयासहरूको समेत स्थलगत अध्ययन गरिएको हो।उक्त अनुगमन कार्यक्रम जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहको नेतृत्वमा सम्पन्न भएको थियो।
सभापति साहले डिभिजन बन कार्यालय बाराबाट चालु आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न गरिएका कार्यहरू सराहनीय रहेको प्रतिक्रिया दिएका छन्।डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले अनुगमन टोलीलाई कार्यालयबाट हालसम्म गरिएका प्रमुख गतिविधिहरूको अवलोकन गराउँदै संरक्षण र दीगो व्यवस्थापनमा कार्यालयको प्रतिबद्धता व्यक्त गरे।यस अनुगमनले बन क्षेत्रमा भइरहेको गतिविधिहरूको पारदर्शिता तथा उत्तरदायित्व अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।