रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिका–१५ निवासी नारायण क्षेत्रीले आफ्नो पहिलो निबन्ध सङ्ग्रह ‘अस्तित्वको खोजी’ सार्वजनिक गर्दै औपचारिक रूपमा साहित्यक्षेत्रमा प्रवेश गरेका छन्। शनिबार डुमरवाना बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजित एक भव्य समारोहबीच उक्त कृति विमोचन गरिएको हो।कृतिमा क्षेत्रीले जीवनभोगाइ, सामाजिक चिन्तन, र अनुभूतिहरू समेटिएका १५ वटा निबन्ध समावेश गरेका छन्। राजनीतिमा सक्रिय रहँदै आएका क्षेत्री अब साहित्यको माध्यमबाट जीवन दर्शन प्रस्तुत गर्न चाहन्छन्।पुस्तक विमोचन कार्यक्रममा बारा जिल्लाका चर्चित साहित्यकार, बुद्धिजीवी र शिक्षाविदहरूको उल्लेखनीय उपस्थिति थियो। उक्त अवसरमा क्षेत्रीले स्रष्टा कृष्ण सिम्खडा र शिक्षासेवी फुलेना चौधरीलाई दोसल्ला ओढाएर गुरु सम्मानसमेत प्रदान गरेका थिए।

साहित्यकार सुनिल कुमार, राजु अधिकारी र रामप्रसाद अधिकारीले कृतिको समिक्षा प्रस्तुत गरेका थिए। उनीहरूका अनुसार ‘अस्तित्वको खोजी’ नेपाली साहित्यमा एक महत्वपूर्ण निबन्ध सङ्ग्रहका रूपमा स्थापित हुनसक्ने सम्भावना बोकेको कृति हो।क्षेत्रीको निबन्ध सङ्ग्रह नेपाली बजारमा चार सय रुपैयाँमा उपलब्ध हुनेछ। उक्त कृतिको प्रकाशन उनका जेठी छोरी आस्मा बस्नेतले गरेकी हुन्, जो विगत सात वर्षदेखि अष्ट्रेलियाको ब्रिसवेनमा बसोबास गर्दै आएकी छिन्।कार्यक्रम नवप्रज्ञापन साहित्यिक पत्रिकाका प्रकाशक नवराज रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. १५ का अध्यक्ष रामप्रसाद लामिछाने, साहित्यकारहरू जंगबहादुर यादव, रामप्रसाद साह, सुनिल कुमार, भीम खकुरेल, एमडिआई हुसेन, प्रदीप धनन्जय , समाजसेवी तथा सिटिईभिटीका पूर्वनिर्देशक रामधारी यादव लगायतको उपस्थिति थियो। कार्यक्रम डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी र प्राध्यापक रामकृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो।

