रञ्जन यादब /बारा
पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र सिमावर्ती अमलेखगन्ज क्षेत्रमा पछिल्ला दिनमा बाघको गतिविधि बढेसँगै स्थानीयवासी त्रसित बनेपछि बाघको निगरानी बढाईएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ मा बाघको आक्रमणबाट असार ४ गते एक जना स्थानीय ब्यक्ति चन्द्र बहादुर भ्लोनको मृत्यु भएपछि स्थिति थप गम्भीर बनेको छ ।डिभिजन वन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाको अनुसार बाघको आक्रमणबाट मानव क्षति भएपछि पर्सा निकुञ्जको टोली, डिभिजन वन कार्यालय र सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा उक्त क्षेत्रमा निगरानी, नियन्त्रण र सतर्कता कार्यहरू तीव्र पारिएको छ ।

घटनाको जानकारी प्राप्त भएलगत्तै डिभिजन वन कार्यालय बाराले प्रहरीसँगको समन्वयमा घटनास्थलको निरीक्षण गरेको थियो। त्यसपछिका दिनमा निकुञ्जको बाघ नियन्त्रण टोलीले घटनास्थल आसपासको क्षेत्रमा नियमित गस्ती, निगरानी तथा अनुगमन थालेको छ ।घटनास्थल र वरपरको क्षेत्रमा बाघको पुनः गतिविधि देखिएपछि स्थिति थप संवेदनशील बनेको छ। डिभिजन वन कार्यालय बारा र पर्सा राष्टिय« निकुञ्जको संयुक्त टोलीले पाँडो राखि डार्टिङ्ग विधिबाट बाघ नियन्त्रणको प्रयास गरिरहेको छ।

बाघ फसाल्नका लागि पिँजडा पनि स्थापना गरिएको छ ।यसका साथै, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कोष (ल्त्ल्ऋ) को टोलीले पनि असार ५ गतेदेखि सक्रिय रूपमा बाघ नियन्त्रण कार्यमा सहयोग गरिरहेको छ । त्यस्तै डिभिजन वन कार्यालय बाराले स्थानीय मध्यवर्ती उपभोक्ता समितिको सहकार्यमा मानव–बाघ द्वन्द्व न्यूनीकरण, सतर्कता, सुरक्षा सजगता तथा जोखिम न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।स्थानीयबासीलाई जंगल आसपास सतर्कता अपनाउन, राति जंगल नजान तथा पशुचौपायाको उचित सुरक्षा गर्नसमेत सुझाव दिइएको छ ।
समस्याको दीर्घकालीन समाधानका लागि स्थानीयस्तरमा वन्यजन्तु नियन्त्रण÷रेस्क्यु युनिट स्थापनाको पहल समेत गरिएको छ। यो कार्य जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा आवश्यक तयारी र छलफलमार्फत अघि बढाइएको छ ।मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बारा, स्थानीय समुदाय तथा सरोकारवाला निकायहरूबीचको सहकार्यले समस्या समाधानको बाटो खोल्ने अपेक्षा गरिएको पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृत सन्तोष कुमार भगतले बताए । तत्कालीन राहत, सुरक्षात्मक गस्ती र नियन्त्रण प्रयाससँगै दीर्घकालीन संरचनात्मक समाधानमा समेत पहल भइरहेको उनले बताए ।

