दिगो वन व्यवस्थापन तथा संवर्धन प्रणाली कार्यान्वयन सुदृढिकरणसम्बन्धी तालिम पथलैयामा सुरु

रञ्जन यादब /बारा

बारा जिल्लाको पथलैयामा दिगो वन व्यवस्थापन तथा संवर्धन प्रणाली कार्यान्वयन सुदृढिकरण सम्बन्धी दुई दिने तालिम सुरु भएको छ। डिभिजन वन कार्यालय बाराको आयोजनामा भइरहेको उक्त तालिममा जिल्लाभरिका सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

तालिममा बारा जिल्लाका ४२ वटा सामुदायिक वन तथा ३ वटा साझेदारी वन उपभोक्ता समूहका प्रतिनिधिहरू सहभागी भएका छन्। वन व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने सरोकारवालाहरूको सहभागिता उल्लेखनीय देखिएको छ।तालिममा प्रशिक्षकका रूपमा डिभिजन वन अधिकृत सञ्जय चौधरीले प्रशिक्षण दिइरहेका छन्। उनले दिगो वन व्यवस्थापन, वन संरक्षण, संवर्धन प्रणाली, तथा वर्तमान समयमा वन क्षेत्रसँग जोडिएका चुनौती र समाधानका उपायबारे सहभागीहरूलाई विस्तृत जानकारी गराएका छन्।्

उनले जिल्लाका साथै मधेश प्रदेश र समग्र देशको वन क्षेत्रको अवस्था, संरक्षणका लागि चालिएका रणनीति र कार्यक्रमहरूबारे समेत जानकारी दिएका थिए ।तालिमबाट सहभागीहरूलाई आफ्नो क्षेत्रको वन व्यवस्थापनमा थप ज्ञान, सीप र व्यवहारिक कार्यदिशा तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। तालिम शुक्रबार सम्म सञ्चालन हुने कार्यक्रम संयोजक तथा बन अधिकृत बर्षा लामाले जानकारी दिईन् ।