परवानीपुरमा राष्ट्रमार्ग साप्ताहिकद्वारा होली मिलन तथा शुभकामना कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा

बाराको परवानीपुरमा राष्ट्रमार्ग साप्ताहिक तथा राष्ट्रमार्ग अनलाईनद्वारा आयोजित होली मिलन तथा शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि मधेशी आयोग सदस्य रेणु साह रहनुभएको थियो।

उक्त अवसरमा प्रमुख अतिथि साहले मधेश र मधेशी समुदायको धर्म–संस्कृति संरक्षण आवश्यक रहेको बताउँदै, हालका समयमा धार्मिक तथा सांस्कृतिक रीतिरिवाज हराउँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले सबै पक्ष मिलेर यी परम्पराहरूको रक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।कार्यक्रममा धार्मिक तथा सांस्कृतिक विकृतिहरूलाई हटाउने विषयमा विशेष जोर दिइएको थियो।

सहभागीहरूले होली पर्वको सन्दर्भमा सांस्कृतिक एकता र परम्परागत मूल्यहरूको संरक्षणमा ध्यान दिनुपर्ने कुरामा जोड दिए।कार्यक्रममा सुचना आयोग सदस्य कमला ओली ,परवानीपुर गाउँपालिका अध्यक्ष राम क्षेत्री पटेल ,ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक सुभद्रा वाईबा, स्थानीय समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। राष्ट्रमार्ग साप्ताहिकका प्रकाशक रामबिनय साहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मि बिशाल सराफले गरेका थिए ।