जीतपुर चोकबाट ३० लाख ६७ हजार भन्दा बढीको सामान नियन्त्रणमा

रञ्जन यादब /बारा

बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. ७ स्थित जीतपुर चोकमा प्रहरीले ३० लाख ६७ हजार रुपैयाँभन्दा बढीको सामानसहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ ।

वीरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ ख ३९८४ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा बिल बिजकभन्दा बढी सामान लोड गरिएको फेला परेको हो । प्रहरीका अनुसार ट्रकमा कपडा, चना, ब्याट्री, थर्मोकोल दाना, र अन्य खुद्रा सामान लोड गरिएको थियो। उक्त सामानको वैध स्रोत पुष्टि गर्न नसकिएपछि ट्रकलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको छ ।

इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरीक्षक मोह नारायण रायको नेतृत्वमा खटिएको टोलीले उक्त कारबाही गरेको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । बरामद सामानहरुलाई आवश्यक अनुसन्धानकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको उहाँले बताउँनुभयो ।