रञ्जन यादब/बारा
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ मा रहेको दुधौरा खोलाको ड्याम पुनर्निर्माण सुरु भएपछि किसानहरु खुसी भएका छन् । दुधौरा खोलाको नारायणी सिंचाई आयोजनाको ड्याम विगतको बाढीले भत्किँदा किसानहरू ठूलो मर्कामा परेका छन् ।
यस सिंचाई प्रणालीले वडा नं. १०, ८, २४ लगायतका क्षेत्रका किसानहरूको खेतियोग्य जमिनमा सिंचाई सुविधा प्रदान गर्दै आएको थियो। ड्याम भत्किएपछि खेती प्रभावित भएको र किसानहरू समस्यामा परेको जानकारी पाएपछि उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले उक्त स्थानमा स्थलगत निरीक्षण गरेका थिए ।निरीक्षणपछि प्रमुख पौडेलले कर्मचारीहरूलाई तत्काल पुनर्निर्माणको काम सुरु गर्न निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार भोलिपल्टदेखि नै ड्याम पुनर्निर्माणको काम सुरु भएको हो ।
किसानहरूले सिंचाई सुविधा पुनः सञ्चालन हुने भएपछि खुसी व्यक्त गर्दै प्रमुख पौडेललाई धन्यवाद दिएका छन्। यो कार्यले जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १०, ८, २४ लगायतका क्षेत्रको कृषि क्षेत्रलाई पुनः गतिशील बनाउन सहयोग पुर्याउने विश्वास यस क्षेत्रका किसानहरुले गरेका छन् । किसानहरूको समस्या समाधानका लागि स्थानीय सरकारको यस पहलले नागरिकहरूमा सकारात्मक सन्देश प्रवाह गरेको छ।