रञ्जन यादब /बारा
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. १४, १५, १६, १७ र १८ का स्थानीय बासिन्दाहरुले दुधौरा खोलामा दाहसंस्कार गर्न कठिनाई भोगेपछि उपमहानगरपालिकाले दुधौरा खोलामा फ्लड लाइट जडान गरेको छ ।
अँध्यारोका कारण दाहसंस्कारमा समस्या हुने गरेपछि स्थानीय स्तरमा समस्या समाधानका लागि नगर प्रमुख राजन पौडेलले पहल गर्नुभएको हो । उक्त समस्या समाधानका लागि जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ४ र १४ को सिमानामा पर्ने दुधौरा खोलामा फ्लड लाइट जडान गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
यसले स्थानीय बासिन्दालाई रातको समयमा समेत सहज रूपमा दाहसंस्कार गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले स्थानीयको समस्यालाई मध्यनजर गर्दै यस योजनालाई प्राथमिकतामा राख्दै कामलाई अगाडि बढाएका हुन् ।
फ्लड लाइट जडान भएपछि दाहसंस्कार मात्र होइन, दुधौरा खोलाको क्षेत्रमा अन्य सांस्कृतिक तथा धार्मिक क्रियाकलाप सञ्चालन गर्न पनि सहज हुने विश्वास नगर प्रमुख पौडेलले लिनुभएको छ । स्थानीय बासिन्दाहरुले यस कदमको स्वागत गर्दै उपमहानगरपालिकाको प्रयासप्रति धन्यवाद व्यक्त गरेका छन्।