रञ्जन यादब / पर्सा
सब डिभिजन बन कार्यालय सबैयाले रामबनकाे जङ्गलभित्रकाे झाँडिमा लुकाईछिपाई राखिएकाे अवस्थामा दुई थान काठकाे गाेलिया बरामद गरेकाे छ ।
बन कर्मचारीहरुको खाना खाने समयमा तस्करहरुले सालको काठ चोरी गरी लुकाएको सूचनाको आधारमा, सहायक बन अधिकृत रामप्रवेश प्रसाद (आठौं) र सशस्त्र बेश क्याम्प सोल्खपुरबाट सशस्त्र प्रहरी नायब निरिक्षक (सइ) संजीव कुमार खड्काको नेतृत्वमा गस्ती टोली परिचालन भएको सब डिभिजन बन कार्यालय सबैयाका फरेष्टर पुरुषाेतम पटेलले जानकारी दिए ।
सो टोलीले वीरगंज महानगरपालिका वडा नम्बर ३२ स्थित रामबन जंगलमा रातको करिब ९:३० बजे काठ तस्करीको प्रयास असफल बनाउँदै उल्लेखनीय सफलता प्राप्त गरेको छ।
गस्ती टोलीले जंगलको झाडीभित्र लुकाइ राखिएको अवस्थामा दुई थान सालको काठ फेला पारेको छ, जसलाई बोझवाहक साइकलमा लोड गरिएको थियो। यसरी लुकाइएको काठ बेवारिसे अवस्थामा फेला परेको हो। बरामद गरिएको काठको परिमाण १०.४२ क्युफिट रहेको छ, जसलाई नियन्त्रणमा लिइएको फरेष्टर पटेलले बताए ।
उक्त काठ कसले र के प्रयोजनका लागि लुकाएको थियो भन्ने बारेमा अनुसन्धान सुरु गरिएको छ। साथै, सो काठ सबैया बनको कुन ब्लकबाट काटेर यहाँ ल्याइएको हो भन्नेबारे पनि थप अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय पर्साका डिभीजनल बन अधिकृत मञ्जुर अहमदले बताए । उनले तस्करी काण्डमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन आवश्यक अनुसन्धान जारी रहेकाे जनाए।बरामद काठलाई सब डिभिजन बन कार्यालय सबैयाकाे नियन्त्रणमा राखिएकाे डिभिजन बन कार्यालय पर्साले जनाएकाे छ ।