जितपुरसिमरा म्याराथनमा राजेन्द्र बम्जन र रीना तामाङ प्रथम

रञ्जन यादब /बारा ३० असोज

बाराको जितपुरसिमरामा आयोजित प्रथम जितपुरसिमरा म्याराथन प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। खस आर्य समाज नेपालको आयोजना तथा बिहानी ग्रुप र भूतपूर्व सैनिकको सहकार्यमा भएको प्रतियोगितामा पुरुषतर्फ राजेन्द्र बम्जन र महिलातर्फ रीना तामाङले प्रथम स्थान हासिल गरेका छन्।सिमरास्थित रामजानकी मन्दिरबाट सुरु भएको म्याराथन पथलैया हुँदै पुनः रामजानकी मन्दिरमै पुगेर समापन भएको थियो। प्रतियोगितामा करिब दुई सय धावकको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताअन्तर्गत ३५ वर्षमाथिको पुरुष समूहमा बम्जनले ३३ मिनेट ४२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै उपाधि जितेका हुन्। चिरञ्जीवी पोखरेलले ३७ मिनेट १३ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गर्दा कुमार थापा ३८ मिनेट २६ सेकेन्डसहित तेस्रो भएका थिए।महिलातर्फ रीना तामाङले ५२ मिनेट ४३ सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। जनकी खड्का ५३ मिनेट ५२ सेकेन्डसहित दोस्रो र मीना श्रेष्ठ ५४ मिनेट २३ सेकेन्डसहित तेस्रो भइन्। त्यसैगरी, ६० वर्षमाथिको समूहमा गंगाप्रसाद मैनालीले ४७ मिनेट १७ सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरे।

प्रतियोगिताका विजेतालाई नगद पुरस्कार, प्रमाणपत्र तथा पदक प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले खेलकुदले शारीरिक स्वास्थ्य राम्रो बनाउनुका साथै समाजमा अनुशासन, एकता र आपसी सद्भाव कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले स्थानीयस्तरमा म्याराथनजस्ता प्रतियोगिता आयोजना हुँदा खेलाडीको प्रतिभा पहिचान गर्न र नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न सहयोग पुग्ने धारणा राखे। यस्ता गतिविधिलाई निरन्तरता दिँदै स्थानीय खेलाडीलाई प्रोत्साहन गर्नुपर्नेमा पनि उनले जोड दिनुभयो ।

खस आर्य समाज नेपालका अध्यक्ष शरद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, विभिन्न वडाका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासीको उपस्थिति थियो।कार्यक्रममा भूतपूर्व सैनिक संयोजक रामचन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने रविन्द्र खकुरेलले कार्यक्रम सञ्चालन गरेका थिए।