रञ्जन यादब /बारा १५ भाद्र
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित श्री नेपाल माध्यमिक विद्यालयमा एआई, सूचना प्रविधि (आईटी) तथा स्मार्टबोर्ड सञ्चालनसम्बन्धी तालिम सम्पन्न भएको छ। तालिम समापनसँगै विद्यालयलाई स्मार्टबोर्ड हस्तान्तरणसमेत गरिएको छ।
विद्यालयमा प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा शिक्षक तथा सम्बन्धित कर्मचारीलाई एआई तथा सूचना प्रविधिको प्रयोग, स्मार्टबोर्ड सञ्चालन र कक्षाकोठामा प्रविधिको प्रभावकारी उपयोगका विषयमा प्रशिक्षण दिइएको जनाइएको छ। पछिल्लो समय शिक्षण सिकाइमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा यस्ता तालिमले शिक्षकहरूलाई आधुनिक प्रविधिसँग अभ्यस्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।तालिम समापन तथा स्मार्टबोर्ड हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं जीतपुरसिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुवास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा सुदन चौधरीको सहभागिता रहेको थियो।कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रोहित बहादुर घिसिङ तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक माधव नेपालले गर्नुभएको थियो।कार्यक्रममा बोल्दै वडा अध्यक्ष श्रेष्ठले शिक्षामा प्रविधिको प्रयोग अहिलेको आवश्यकता भएकाले विद्यालयमा उपलब्ध स्मार्टबोर्ड तथा एआई र आईटीसम्बन्धी ज्ञानलाई नियमित पठनपाठनमा प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए।
स्मार्टबोर्डको प्रयोगले परम्परागत शिक्षण पद्धतिलाई थप अन्तरक्रियात्मक, व्यवहारिक र विद्यार्थीमैत्री बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।विद्यालयलाई हस्तान्तरण गरिएको स्मार्टबोर्डलाई प्रभावकारी रूपमा प्रयोग गर्दै विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने तथा शिक्षकहरूलाई प्रविधिमैत्री बनाउँदै लैजाने विद्यालयले जनाएको छ।




