कोल्हबीमा झाडीभित्र लुकाइराखेको अवस्थामा पाँच थान सालको गोलिया बरामद

रञ्जन यादब /बारा १५ भाद्र

बाराको कोल्हबी नगरपालिका वडा नं.४, लामपोईनी नजिकै झाडीभित्र लुकाइराखिएको अवस्थामा पाँच थान साल जातको काठको गोलिया बरामद भएको छ ।विशेष सूचनाका आधारमा प्रहरीसहित खटिएको वन कर्मचारीको टोलीले झाडीभित्र लुकाइराखिएको अवस्थामा १९ क्युफिट काठ बरामद गरेको कोल्हबी सब–डिभिजन वन कार्यालयका वन अधिकृत कृष्ण पटेलले जानकारी दिए ।

बरामद गरिएको काठ पाँच थान गोलियाको रूपमा रहेको छ । काठ चोरहरूले वनबाट अवैध रूपमा कटान गरी चोरी–निकासी गर्ने उद्देश्यले झाडीभित्र लुकाएर राखेको हुनसक्ने वन कार्यालयको प्रारम्भिक अनुमान छ ।प्रहरीसहितको वन टोली घटनास्थलमा पुग्दा काठ लुकाएर राख्ने व्यक्तिहरू त्यहाँबाट भागेको हुनसक्ने अनुमान गरिएको छ ।

काठ बरामद भएपछि टोलीले त्यसलाई सवारीसाधनमा लोड गरी कोल्हबी सब–डिभिजन वन कार्यालयमा ल्याएर सुरक्षित राखेको छ ।वन अधिकृत पटेलका अनुसार बरामद सालको काठको अनुमानित मूल्य करिब ४२ हजार रुपैयाँ बराबर रहेको छ । घटनामा संलग्न व्यक्तिको पहिचान तथा काठ कहाँबाट कटान गरी ल्याइएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।

पछिल्लो समय वन क्षेत्रबाट साललगायत बहुमूल्य जातका काठ अवैध रूपमा कटान तथा चोरी–निकासी हुने क्रम देखिएपछि वन कार्यालयले निगरानी तथा गस्तीलाई समेत बढाउँदै लगेको जनाएको छ । बरामद काठको आवश्यक प्रक्रिया पूरा गरी कानुनी कारबाही अघि बढाइने डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत सुजित कुमार झाले जानकारी दिए