रञ्जन यादब /बारा १३ भाद्र
रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बारा सिमराकी समाजसेवी राजी राणाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड नौ लाख रुपैयाँ सहयोग गरेकी छन्।८८ वर्षीया राणाले व्यक्तिगत रूपमा उपलब्ध गराएको उक्त सहयोग रकम आफ्ना सहयोगी कृष्ण बस्नेतमार्फत सरकारलाई हस्तान्तरण गरिएको हो। नगद सहयोगसँगै उनले बाढी प्रभावितका लागि करिब २५ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा आवश्यक जिन्सी सामग्रीसमेत उपलब्ध गराउने तयारी गरेकी छन्।
देश प्राकृतिक विपत्तिको गम्भीर संकटबाट गुज्रिरहेका बेला राणाको सहयोगलाई मानवीय सेवाप्रतिको प्रतिबद्धताको उदाहरणका रूपमा हेरिएको छ। प्रचारभन्दा कामलाई प्राथमिकता दिने उनी लामो समयदेखि विभिन्न सामाजिक तथा मानवीय अभियानमा सक्रिय रहँदै आएकी छन्।दिवङ्गत पति प्रभु शमशेर जबराको स्मृतिमा स्थापना गरिएको ‘प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठी’ मार्फत राणाले सामाजिक सेवाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। व्यक्तिगत जीवनमा भोगेको पीडालाई समाजप्रतिको सेवामा रूपान्तरण गर्दै उनले शिक्षा, खेलकुद, आवास तथा सामाजिक सुरक्षाका क्षेत्रमा योगदान पु¥याउँदै आएकी छन्।यसअघि उनले जीतपुरसिमरा उपमहानगरपालिका–६ मा मुसहर समुदायका २० परिवारका लागि व्यवस्थित आवाससहितको बस्ती निर्माण गरिदिएकी थिइन्। त्यस्तै, स्थानीय खेल प्रतिभाको विकास गर्ने उद्देश्यले करिब एक करोड २५ लाख रुपैयाँको लागतमा ‘प्रभुराजी एनजेजेवाईसी फुटबल एकेडेमी’ को सुविधासम्पन्न भवन निर्माण गरी खेलकुद पूर्वाधार विस्तारमा सहयोग पु¥याएकी छन्।
राणाले विभिन्न सार्वजनिक स्थानमा सर्वसाधारणलाई लक्षित गर्दै शुद्ध तथा चिसो खानेपानीको व्यवस्था पनि गर्दै आएकी छन्। पछिल्लो समय उनले अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचियर र ट्राईसाइकल वितरण गर्नुका साथै आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई पोशाक तथा आवश्यक शैक्षिक सामग्री सहयोग गरेकी थिइन्।रसुवा बाढीले ठूलो जनधनको क्षति पु¥याएको अवस्थामा उनको पछिल्लो सहयोगले विपद् प्रभावितहरूको राहत तथा पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।




