रञ्जन यादब /बारा ०८ भाद्र
बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दै गएपछि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरीले विद्यालयमै पुगेर बालबालिकालाई ‘गुड टच’ र ‘ब्याड टच’ सम्बन्धी सचेतना दिन सुरु गरेका छन्।बालबालिकालाई आफ्नो शरीरप्रति सचेत बनाउँदै राम्रो र नराम्रो स्पर्शबीचको फरक बुझाउने उद्देश्यले गिरीले विद्यालयस्तरबाटै अभियान सुरु गरेका हुन्।
उनले आफुले पढेको बिद्यालय जीवन ज्योती सेकेन्ड्री स्कुल जीतपुरका बालबालिकालाई कुनै व्यक्तिको स्पर्श असहज वा गलत लागेमा त्यसको प्रतिरोध गर्न, विश्वासिलो अभिभावक, शिक्षक वा जिम्मेवार व्यक्तिलाई तत्काल जानकारी गराउनुपर्ने विषयमा प्रशिक्षण दिएका छन्। प्रशिक्षणका क्रममा बालबालिकामाथि हुने यौनजन्य हिंसा तथा दुव्र्यवहारबाट जोगिन आवश्यक सावधानीका विषयमा समेत जानकारी दिइएको थियो।
पछिल्लो समय बालबालिकामाथि हुने हिंसाका घटना चिन्ताजनक रूपमा बढिरहेको अवस्थामा विद्यालयस्तरमै सचेतना फैलाउन आवश्यक रहेको महासचिव गिरीले बताएका छन्।उनले यो अभियानलाई निरन्तरता दिँदै अन्य विद्यालयहरूमा पनि पुगेर बालबालिका, शिक्षक तथा अभिभावकलाई सचेतना प्रदान गर्ने योजना रहेको बताएका छन्। बालबालिकालाई हिंसाबाट जोगाउन परिवार, विद्यालय र समाज सबैको साझा भूमिका आवश्यक रहेको उनको भनाइ छ।




