पिसाब फेरेको विषयमा विवाद हुँदा जीतपुरमा युवाबीच झडप, तीन पक्राउ

रञ्जन यादब /बारा २८ साउन

बाराको जीतपुरस्थित टेडा रोडमा साइकल पसलनजिकै पिसाब फेरेको विषयलाई लिएर युवाहरूबीच झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीलाई समेत हम्मेहम्मे परेको थियो । प्रत्यक्षदर्शीका अनुसार घुम्टीमा सञ्चालन भइरहेको साइकल पसलनजिक एक युवा पिसाब फेर्न खोजेपछि पसल सञ्चालक ओमप्रकाश सराफले त्यहाँ पिसाब नगर्न आग्रह गरेका थिए । त्यस क्रममा ती युवाले ‘यो तिम्रो जमिन हो र ? किन नगर्ने ?’ भन्दै गालीगलौज गरेपछि दुवैबीच विवाद बढ्दै झडप भएको बताइएको छ ।त्यसपछि पिसाब फेर्न आएका युवाको समूह घटनास्थलमा पुगेको र पसल सञ्चालक सराफमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

झडप बढेपछि इलाका प्रहरी कार्यालय जीतपुरका वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले केही समयको प्रयासपछि स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।घटनामा पिसाब फेर्न आएका युवाको पक्षबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । यता, पसल सञ्चालकको पक्षबाट दुई जना घाइते भएका छन् । उनीहरूको वीरगञ्जस्थित अस्पतालमा उपचार भइरहेको बताइएको छ ।घाइतेहरूको टाउको, ओठलगायत शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।