रञ्जन यादब /बारा
स्थानीय सरकार सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारितालाई केन्द्रमा राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको १३औँ नगर अधिवेशन बुधबार सम्पन्न भएको छ। सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा बसेको अधिवेशनले नगर प्रशासनलाई थप व्यवस्थित बनाउने दिशामा महत्वपूर्ण निर्णयहरू गरेको छ। अधिवेशनको सबैभन्दा प्रमुख उपलब्धिका रूपमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०८२ पारित भएको छ।
यस विधेयकले आगामी दिनमा नगरको आम्दानी, खर्च, लेखा व्यवस्थापन र वित्तीय उत्तरदायित्वलाई स्पष्ट मापदण्डभित्र ल्याउने अपेक्षा गरिएको छ। स्थानीय तहमा बढ्दो विकास खर्च र पारदर्शिताको मागबीच यो विधेयकलाई समयसापेक्ष कदमका रूपमा हेरिएको छ। यससँगै नगरसभाले विधायन समिति, सुशासन समिति र लेखा समिति गठन तथा सञ्चालनसम्बन्धी कार्यविधि–२०८२ पनि अनुमोदन गरेको छ। यी समितिहरूले नगरसभाको निर्णय प्रक्रिया, सेवा प्रवाहको निगरानी र आर्थिक परीक्षणलाई संस्थागत बनाउने विश्वास लिइएको छ।विधेयक र कार्यविधि पारित भएपछि उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले तीनवटै समितिका संयोजक तथा सदस्यहरूको नामावली सभामा प्रस्तुत गरेका थिए। सभाले प्रस्तावित नामावलीलाई अनुमोदन गर्दै समितिहरूलाई औपचारिक रूपमा कार्यरत बनाएको छ।

विधायन समितिको संयोजकमा इन्दल हजरा चयन भएका छन् भने नविन मैनाली, गरिब महतो र सुरेश यादव सदस्य रहेका छन्। सुशासन समितिको संयोजकको जिम्मेवारी सुशिलादेवी थरुनीलाई दिइएको छ भने नुरुल्लाह अंसारी, दीपेन्द्र चौधरी र राकेश सुब्बा सदस्य छन्। यस्तै लेखा समितिको संयोजक विशाल घिमिरे चयन हुँदा मोहन लिम्बु, गंगा पटेल र ईश्वर चौधरी सदस्य बनेका छन्। अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख राजन पौडेलले विधेयक तथा कार्यविधि पारित हुनु केवल औपचारिक निर्णय मात्र नभई उपमहानगरपालिकाको दीर्घकालीन सुधार यात्राको सुरुआत भएको बताए। उनले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै बजेटलाई जनअपेक्षासँग जोड्न वडास्तरमा छलफल आवश्यक रहेको धारणा राखे।

नगर अधिवेशनको उद्घाटन सत्रमा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नं. १८ का वडाध्यक्ष चतुरबाबु वाग्ले, वडा नं. १० का वडाध्यक्ष सञ्जय पटेल र वडा नं. ९ का वडाध्यक्ष मोतीलाल कुशवाहाले स्थानीय सरकारलाई अझ प्रभावकारी बनाउने अपेक्षासहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए। नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादलगायत जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाको उपस्थिति रहेको थियो। सभामा रेखा श्रेष्ठले दोभाषेको भूमिका निर्वाह गर्दै सहभागितालाई अझ समावेशी बनाएकी थिइन्। स्थानीय शासन प्रणाली सुदृढ बनाउने दिशामा गरिएको यी निर्णयहरूले अब कागजमै सीमित नहोस् भन्ने अपेक्षा स्थानीयवासीको छ।

