रञ्जन यादब /बारा
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिमराको ६८औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। बिहीबार उद्घाटन भएको वार्षिकोत्सव शुक्रबार औपचारिक समारोह, विज्ञान प्रदर्शनी, फुड फेस्टिभल तथा पूर्व विद्यार्थी भेलासहित समापन गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार अधिकारीको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख पौडेलले नेरा मावि सिमरा उपमहानगरपालिकाकै शैक्षिक पहिचानका रूपमा स्थापित भइसकेको बताए। उनले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण र सक्षम जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्दै स्थानीय सरकारले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सिमरालाई शैक्षिक हबका रूपमा विकास गर्ने अभियानमा नेरा मावि सिमराको भूमिका उल्लेखनीय रहेको उनको भनाइ थियो।

कार्यक्रममा उपप्रमुख भोला प्रसाद अधिकारीले विद्यालयमा विशाल भौतिक संरचना तथा विभिन्न संकाय सञ्चालनमा रहेकाले जीतपुरसिमराका विद्यार्थीहरूलाई अध्ययनका लागि वीरगञ्ज जानुपर्ने बाध्यता हटेको बताए। बारामा पहिलो पटक कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालय नेरा मावि सिमरा रहेको स्मरण गराउँदै उनले वार्षिक १ लाख ५० हजार रुपैयाँ अनुदानबाट उच्च माध्यमिक तहको पढाइ सुरु भई निरन्तर रूपमा सञ्चालन हुँदै आएको जानकारी दिए। अभिभावकहरूको सक्रिय सहभागिताका कारण विद्यालयमा विद्यार्थी संख्या निरन्तर वृद्धि भइरहेको उनले बताए।वार्षिकोत्सवकै अवसरमा पूर्व विद्यार्थी भेला पनि सम्पन्न भएको थियो। भेलामा पूर्व विद्यार्थी शालिकराम अधिकारीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्तै उपयोगी रहेको बताए। उनले विद्यार्थी लक्षित गतिविधिहरू वार्षिक क्यालेन्डर बनाएर सञ्चालन गर्न सुझाव दिँदै सिमरालाई शैक्षिक केन्द्र बनाउने अभियानमा नेरा मावि सिमराको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गरे।
कार्यक्रमअन्तर्गत विज्ञान प्रदर्शनी तथा फुड फेस्टिभल आयोजना गरिएको थियो। सोही अवसरमा २०५५ सालका पूर्व विद्यार्थीहरूले विद्यालयलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् भने प्राविधिक शिक्षा सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार अधिकारीले व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंकर आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। वार्षिकोत्सव समारोहमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

