भेडाहा खोलाबाट नदिजन्य पदार्थ उत्खन्न गर्नकोलागि सार्वजनिक सुनुवाइ

रञ्जन यादब /बारा

बिरगंज महानगरपालिका भित्र रहेको भेडाहा खोलाबाट नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी तथा बालुवा) को दिगो र व्यवस्थित उत्खनन् तथा संकलन कार्यका लागि आवश्यक प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

बिरगंज महानगरपालिका वडा नं. ३१ को कार्यालय बेलवामा आयोजित उक्त सार्वजनिक सुनुवाइ बिरगंज महानगरपालिकाको आयोजना तथा सुनरस कन्सलटेन्सी एन्ड ट्रेडर्स प्रा.लि.को सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, वातावरण विज्ञ, स्थानीय बासिन्दा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सुनुवाइ कार्यक्रममा प्रस्तावित उत्खनन् तथा संकलन कार्यले वातावरणमा पार्न सक्ने प्रभाव, खोलाको प्राकृतिक स्वरूप संरक्षण, बाढी तथा कटान नियन्त्रण, जैविक विविधताको संरक्षण, स्थानीय बासिन्दाको सुरक्षाका विषयमा विस्तृत रूपमा छलफल गरिएको थियो। साथै उत्खनन् कार्य गर्दा कानुनसम्मत मापदण्ड पालना, समय निर्धारण, उपकरणको प्रयोग, धुलो–ध्वनि प्रदूषण न्यूनीकरण तथा प्रभावित क्षेत्रको पुनःस्थापना योजना सम्बन्धी विषयहरू प्रस्तुत गरिएको थियो।कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले सम्भावित जोखिम, खोलाको बहावमा असर, कृषियोग्य जमिनको संरक्षण र स्थानीय रोजगारी सिर्जनाका विषयमा आ–आफ्ना सुझाव तथा जिज्ञासा राखेका थिए।

ती सुझावहरूलाई प्रतिवेदनमा समावेश गरिने र वातावरणीय सन्तुलन कायम गर्दै मात्र उत्खनन् कार्य अगाडि बढाइने प्रतिबद्धता आयोजक पक्षले जनाएको छ।बिरगंज महानगरपालिकाले नदिजन्य पदार्थको उत्खनन् कार्यलाई पारदर्शी, वैज्ञानिक र वातावरणमैत्री बनाउँदै राजस्व वृद्धि तथा स्थानीय विकासमा योगदान पु¥याउने लक्ष्य लिएको जनाएको छ। सार्वजनिक सुनुवाइबाट प्राप्त सुझाव तथा प्रतिक्रिया समेटेर अन्तिम प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पारिने जानकारी सुनरस कन्सलटेन्सी एण्ड ट्रेडर्स प्रा.लि.का बन बिज्ञ सदस्य शम्भु प्रसाद चौरसियाले जानकारी दिए । सार्बजनिक सुनुवाई कार्यक्रममा वडा नं.३१ का वडा अध्यक्ष जितेन्द्र प्रसाद यादब ,बिरगंज महानगरपालिकाको बाताबरण ईन्जिनीयर प्रकाश ऐर ,सब डिभिजन बन कार्यालय सबैयाका रेञ्जर भुपाल रोकाय ,कबिता दास , हैदर अंसारी ,बालेश्वर चौधरी ,बालेश्वर गौरो लगायतको सहभागिता रहेको थियो ।