रञ्जन यादब /बारा
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्ति राज प्रसाईंको गृह मन्त्रालयमा सरुवा भएको छ। मन्त्रिपरिषद्को पुस ३ गते बसेको बैठकले प्रशासनतर्फका ६० जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने क्रममा प्रसाईंलाई गृह मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो।
२०८१ साल फागुन २६ गते जीतपुरसिमरा उपमहानगरपालिकामा हाजिर भएका प्रसाईंको कार्यकाल १० महिना पनि पुग्न नपाउँदै उनी संघीय राजधानी फर्कने भएका हुन्।लामो समयसम्म उपसचिव तहका कर्मचारीहरूले नेतृत्व दिँदै आएको यस उपमहानगरपालिकामा सहसचिव प्रसाईंले कुल २८५ दिन बिताएका छन्। स्रोतका अनुसार उनी आफैँले गृह मन्त्रालय जान इच्छा देखाउँदै सरुवाका लागि पहल गरिरहेका थिए। उपमहानगरपालिकामा आफ्नो संक्षिप्त बसाईका क्रममा उनले महत्वपूर्ण प्रशासनिक तथा नीतिगत कार्यहरूमा अभिभावकीय भूमिका निर्वाह गरे।
विशेष गरी उनकै कार्यकालमा उपमहानगरपालिकाको महत्वपूर्ण १२औँ नगरसभा सफलतापूर्वक सम्पन्न भएको थियो, जसले नगरको आगामी योजना र बजेट कार्यान्वयनको बाटो प्रशस्त गरेको थियो।स्थानीय स्तरमा राजनीतिक समन्वय र प्रशासनिक कार्यसम्पादनमा प्रसाईं निकै सफल मानिएका थिए। उनले आफ्नो कार्यकालमा कुनै पनि ठूला विवादमा नफसी सन्तुलित र विवादरहित ढंगले कार्यसम्पादन गर्दै कर्मचारी प्रशासन र जनप्रतिनिधिबीच पुलको काम गरेका थिए। प्रसाईंको सरुवा भए पनि मन्त्रिपरिषद्ले उनको स्थानमा कसलाई पठाउने भन्नेबारे भने हालसम्म कुनै टुङ्गो लगाएको छैन। यसले गर्दा उपमहानगरपालिकामा पुनः प्रशासनिक नेतृत्वको अन्योल सिर्जना हुने देखिएको छ।

