रञ्जन यादब /बारा
नेकपा एमालेको केन्द्रीय नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रियामा बारा जिल्लाबाट उल्लेख्य सहभागिता देखिएको छ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीअनुसार बाराबाट एक जना पदाधिकारीसहित जम्मा १४ जनाले केन्द्रीय कमिटीका विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।पदाधिकारीतर्फ केन्द्रीय सचिव पदका लागि पुरुषोत्तम पौडेल मैदानमा उत्रिएका छन् ।
संविधानसभा सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका पौडेल एमालेभित्र अनुभवी र सन्तुलित नेताका रूपमा परिचित छन् । अघिल्लो कार्यकालमा उनी पोलिटब्युरो सदस्यका रूपमा सक्रिय थिए ।केन्द्रीय सदस्य पदका लागि पोलिटब्युरोका दुई वर्तमान सदस्य अच्युत मैनाली र ज्वालाकुमारी साहले उम्मेदवारी दिएका छन् । दुवै जना विघटित प्रतिनिधिसभाका सदस्य हुन् । मैनाली बारा क्षेत्र नं. १ र साह बारा क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । साह पूर्वमन्त्री हुन् भने मैनालीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकारको जिम्मेवारी समेत सम्हालेका थिए ।यसका साथै अघिल्लो केन्द्रीय कमिटीका सदस्यहरू बलवीर चौधरी, महम्मद समीर र एकबाल मियाँले पनि पुनः केन्द्रीय सदस्यमा दाबी प्रस्तुत गरेका छन् ।
चौधरी संविधानसभा सदस्य, समीर प्रदेशसभा सदस्य र मियाँ पूर्व प्रतिनिधिसभा सदस्य हुन् ।त्यस्तै, नेकपा एकीकृत समाजवादी परित्याग गरी एमालेमा प्रवेश गरेका पूर्वमन्त्री किसान श्रेष्ठले पनि केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । बारा क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका श्रेष्ठले यसअघि श्रममन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।एमालेको केन्द्रीय नेतृत्वमा बारा जिल्लाबाट ठूलो संख्यामा आकांक्षी देखिनु स्थानीय राजनीतिक सक्रियताको संकेतका रूपमा हेरिएको छ

