रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलियाले आर्थिक रूपमा विपन्न तथा प्रारम्भिक तहका विद्यार्थीलाई लक्षित गर्दै ५०७ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ। बालविकास कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई सर्ट, फ्रक, पाइन्ट, जुत्ता, मोजा, टाई र बेल्ट वितरण गरिएको हो।विद्यालयका प्रधानाध्यापक धनन्जय गौतमका अनुसार सर्ट, फ्रक, पाइन्ट, जुत्ता र मोजा आर्थिक बर्ष २०८१।०८२ मा छुट्याईएको जीतपुरसिमरा उपमहानगरपालिकाको उपमहानगर स्तरीय बजेटबाट उपलब्ध गराइएको हो भने टाई र बेल्ट विद्यालयले आफ्नै आन्तरिक स्रोतबाट व्यवस्थापन गरी वितरण गरेको हो।

यसले विद्यार्थीहरूलाई एकरूपता, अनुशासन र विद्यालयप्रतिको अपनत्व बढाउने विश्वास विद्यालयले व्यक्त गरेको छ।पोशाक वितरण कार्यक्रम वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। वडा अध्यक्ष चौधरीले विद्यार्थीहरूलाई पोषाक हस्तान्तरण गर्दै शिक्षा क्षेत्रमा गरिएको लगानीले भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय तह सधैं शिक्षा सुधार र विद्यार्थी हितका कार्यक्रममा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
विद्यालयका प्रा.वि. संयोजक रीता चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरू ईन्दल पासवान, ईश्वर चौधरी, विमला देवी पासवानलगायत अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले विद्यालयले विद्यार्थीको आवश्यकता बुझेर गरेको यो पहल सराहनीय रहेको बताएका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक धनन्जय गौतमले गर्नुभएको थियो। विद्यालय प्रशासनले आगामी दिनमा पनि विद्यार्थी केन्द्रित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। नगर प्रमुख राजन पौडेल निर्वाचित भए लगतै आफनो पहिलो निर्णय बिद्यालयमा पोशाक बितरण गरेका थिए ।

