बारा — मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता युवराज भट्टराई (समिर) लाई सरकारमा सहभागी हुन पार्टीका नेता तथा कार्यकर्ताले तीव्र दबाब दिएका छन्।
अघिल्लो मधेस सरकारमा पर्यटन मन्त्रीको रूपमा ५४ दिनको छोटो कार्यकालमै उल्लेखनीय काम गरेर पहिचान बनाएका भट्टराई पुनः सरकारमा फर्किनुपर्ने आवाज माओवादी भित्र तीव्र बनेको छ। मन्त्री भइसकेका बेला उनले तयार पारेको एक आर्थिक वर्षको पर्यटन विकासमुखी बजेट सर्वस्वीकार्य र रणनीतिक मानिएको थियो। उक्त बजेटले मधेस प्रदेशको पर्यटन सम्भावना उजागर गर्दै प्रदेशको समग्र आर्थिक गतिविधिमा सकारात्मक सन्देश दिएको भन्दै भट्टराईको कार्यशैली प्रशंसित बनेको थियो।
पार्टीभित्रका नेताहरूले भट्टराईले छोटो समयमा पनि पारदर्शी, योजनाबद्ध र प्रभावकारी रूपमा काम गरेको जनाउँदै, उनलाई पुनः जिम्मेवारी दिनु पार्टी र प्रदेश दुबैका लागि लाभदायक हुने तर्क अघि सारेका छन्। कार्यकर्ताहरूले भने भट्टराईको नेतृत्वमा प्रदेश सरकारमा माओवादी केन्द्रको उपस्थिति सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
अघिल्लो कार्यकालमा जनमुखी नीति अघि सारेका कारण लोकप्रिय बनेका भट्टराई ५४ दिनमै सत्ताबाट बाहिरिन बाध्य भएका थिए। अब भने पार्टीभित्र र कार्यकर्ता तहमा उनी सरकारमा सहभागी हुनुपर्ने एकमतजस्तै दबाब सिर्जना भएको देखिन्छ।
माओवादी केन्द्रको मधेस प्रदेश संगठनभित्र भट्टराईको भूमिकाबारे अन्तिम निर्णय चाँडै हुने संकेत पनि स्रोतहरूले बताएका छन्।

