रञ्जन यादब /बारा
पर्सागढी नगरपालिका, बड्नियार–४ मा ९.२५ क्यूबिक फिट अवैध गोलिया काठ बरामद गरिएको छ । कमाण्डर जितबहादुर तामाङको नेतृत्वमा रहेको विशेष वन टोलीले गोप्य सूचनाको आधारमा उक्त काठ बरामद गर्न सफल भएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले बताए ।
वन टोलीले अवैध काठ तस्करीविरुद्ध निरन्तर निगरानी गरिरहेको बताउँदै, अवैध कार्यमा संलग्नलाई कानूनी कारबाही गर्ने चेतावनी दिएको छ। यस कारबाहीलाई वन संरक्षणका लागि महत्वपूर्ण कदमको रूपमा लिइएको छ ।स्थानीय समुदायले पनि वनको संरक्षणमा सहयोग गर्नुपर्ने टोलीले अपिल गरेको छ । त्यस्तै पर्सागढी नगरपालिका, हरपुर टाँडी–८ मा लुकाइछिपाइ राखिएको अवस्थामा ३.९३ क्यूफिट काठ बरामद गरिएको बड्निहार सब डिभिजन बन कार्यालयका वन अधिकृत नवनीत मिश्रा बताए ।
। विशेष सूचनाको आधारमा वन टोलीले उक्त काठ बरामद गर्न सफल भएको हो। अवैध काठ तस्करीविरुद्ध अभियानलाई थप कडा बनाउँदै वन विभागले स्थानीय सहयोगको समेत आग्रह गरेको छ । यता, मंसिर १८ गते राति करिब १० बजे बागेश्वरी गाउँमा एउटा अजिङ्गर फेला परेको छ।
उक्त अजिङ्गरलाई उद्धार गर्न स्थानीय प्रहरीकर्मीको सहयोग लिइएको थियो। उद्धार पश्चात अजिङ्गरलाई सुरक्षित रुपमा प्राकृतिक वासस्थानतर्फ जंगलमा छोडिएको छ । वन तथा वन्यजन्तु संरक्षण अभियानलाई प्रभावकारी बनाउन यस्ता घटनामा स्थानीयको भूमिका पनि महत्त्वपूर्ण रहेको वन अधिकृत मिश्राले बताए ।